साझा र विवेकशील एकीकरणको अन्तिम तयारीमा - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

साझा र विवेकशील एकीकरणको अन्तिम तयारीमा



काठमाडौं ,साउन १० । विवेकशील नेपाली र साझा पार्टीबीच पार्टी एकीकरण हुने भएको छ । एकीकरणका लागि दुवै पार्टीले बनाएका वार्ता समितिले सैद्धान्तिक र वैचारिक विषयहरु मिलाइसकेको र केही प्राविधिक विषय मिलाउन बाँकी रहेको जनाएका छन् । पार्टी एकताका लागि विवेकशील नेपालीले रमेश पौडेलको संयोजकत्वमा गोविन्द नारायण सदस्य र साझा पार्टीले डा.सूर्यराज आचार्यको संयोजकत्वमा मुमाराम खनाल सदस्य रहेको वार्ता समिति बनाएका छन् ।

अाजको नयाँ पत्रिकामा खबर छ– विवेकशील नेपालीका बार्ता टोली संयोजक पौडेलले सैद्धान्तिक र राजनीतिक विषयमा सहमति नजिक पुगिएको र केहि प्राविधिक विषय मिलाउन बाँकी रहेको जानकारी दिए । ‘सैद्धान्तिक र वैचारिक पक्षमा लगभग सहमति भइसकेको छ, केहि प्राविधिक पक्ष मिलाउन बाँकी छ,’ पौडेलले भने ‘मूल्य मान्यता र निष्ठाको राजनीतिलाई स्थापित गर्न बैकल्पिक शक्ति एक हुने प्रक्रिया केहि दिनमा टुंग्याउने गरी हामी लागि रहेका छौ ।’

साझा पार्टीका बार्ता टोली संयोजक डा. आचार्यले मुलुकको विकासका लागि बैकल्पीक राजनीतिक शक्ति एक भएर अघि बढ्ने आवस्यक रहेको ठानेर एकिकरण गर्नका लागि प्रयास थालिएको बताए । ‘हो, हामी एकिकरणका लागि सघन बार्तामा छौ,’ डा. आचार्यले भने ‘केहि दिनमा नै एकिकरणको औपचारिक घोषणा गर्ने तयारी हाम्रो छ ।’

एकिकरण पछि तत्कालका लागि सामूहिक नेतृत्वमा जाने सहमति दुई पक्षबीच बनेको छ ।स्थानीय तहको निर्वाचनअघि नै पार्टी एकता प्रयास भएपनि एकीकृत पार्टीको नेतृत्व कसले गर्ने भन्नेमा कुरा मिलेको थिए । अहिले विवेकशील नेपालीको अध्यक्ष उज्ववल थापा र साझा पार्टीको संयोजक रविन्द्र मिश्र छन् ।

साझा पार्टीका वार्ता टोली संयोजक डा. आचार्यले तत्कालका लागि दुवै पार्टीको नेतृत्व तहलाई समायोजन गरी सामुहिक नेतृत्वमा अघि बढ्ने र निकट निकट भविष्यमा एकता महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने सैद्धान्तिक सहमति बनेको जानकारी दिए ।

एकिकृत पार्टीको नाम र झण्डा के राख्ने विषयमा छलफल भइरहेको पौडेलले बताए । ‘एकिकृत पार्टीको नाम र झण्डाका विषयमा छलफल भइरहेको छ’ पौडेलले भने ‘ नाम एउटा पार्टीको भए अर्को पार्टीको चुनाव चिन्ह राख्नेगरी सहमति जुटाउने प्रयास भइरहेको छ ।’