साझा पार्टीको प्रश्न: हाम्रा प्रधानमन्त्री रअ प्रमुखकै हैसियतका हुन् ?
काठमाडौँ- भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले संक्षिप्त रूपमा अचानक नेपाल भ्रमण गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर फर्किएको विषयप्रति साझा पार्टीले ध्यानाकर्षण गरेको छ ।
‘के ‘रअ’ प्रमुख गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ‘विशेष दूत’का रूपमा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाएका हुन् ? यदी हुन् भने प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस्। होइन भने, आफ्ना खुफिया एजेन्सी प्रमुखलाई विशेष विमानबाट नेपाल पठाएर प्रधानमन्त्रीसँग भेटाउनुबाट भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको संकेत गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
उक्त भेटलाई साझा पार्टीले प्रधानमन्त्रीकै तहबाट नेपालको कूटनीतिक सम्मान र राष्ट्रिय स्वाभिमानमाथि ठाडो आक्रमण भएको बताएको छ । रअका प्रमुख उनको नेपाली समकक्षी नेपालको गुप्तचर निकायका प्रमुखको निमन्त्रणामा आएका हुन् कि यदी हुन् भने त्यसबारे प्रधानमन्त्री कार्यालयले स्पष्ट पार्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ । अन्यथा देशको प्रधानमन्त्रीको मर्यादा ख्याल गरिएकोमा साझा पार्टीले संशय प्रकट गरेको छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘एकातिर परराष्ट्र मन्त्रालयले औपचारिक वार्ताका लागि गरेको पत्राचारको जवाफ दिल्लीले नदिनु र अर्कोतिर खुफिया एजेन्सीका प्रमुख आएर सिधै प्रधानमन्त्रीलाई भेट्नुले नेपाली कुटनीति भारतसँगको सम्वन्धमा कुन तहमा गिरेको छ भन्नेमात्र स्पष्ट पार्दैन, त्यसले अन्य देशहरूसँगको हाम्रा कुटनीतिक सम्बन्धलाई पनि अत्यन्तै हलुका र सस्तो बनाइदिनेछ।’
यस्तै प्रधानमन्त्री ओलीको भेटलाई लज्जाजनक रवैया भन्दै साझा पार्टीले यसमा गम्भीर भर्त्सना गरेको पनि जनाएको छ । दशकौँदेखि नेपालका शीर्ष भनिएका नेताहरूले देखाइरहेको आचरणलाई रोक्न र परराष्ट्र मन्त्रालयको कुटनीतिक आचारसंहिता पालना गर्न पनि साझा पार्टीले सबै नेताहरूलाई आग्रह गरेको छ ।