टाट पल्टियो साझा प्रकाशन, के गर्दैछ सरकार ? - Himal Post Himal Post
  • ११ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 27 2024
Logo

टाट पल्टियो साझा प्रकाशन, के गर्दैछ सरकार ?



काठमाडौं – आजको नयाँ पत्रिकामा मूख्य समाचारबाट ।

सिसा चर्केका भवन । लेउ जमेका भित्ता । गोदाममा अस्तव्यस्त पुस्तक । भत्किएका भित्ता छेडेर उम्रिएको पीपल । परिवार बसाइँ सरेको घरमा सन्नाटा छाएजस्तै लाग्छ, साझा प्रकाशनको केन्द्रीय कार्यालय । एक सय पाँचवर्षे लामो र गौरवशाली इतिहास बोकेको संस्था जीवन र मरणको दोसाँधमा लडिरहेको बिरामीको हालतमा छ ।

साहित्यकार नयनराज पाण्डे साझाको चकाचौँध देख्नेमध्येका एकजना हुन् । जतिवेला उनी साहित्यमा प्रवेश गर्दै थिए, त्यसवेला साझाबाट पुस्तक छापिनु चानचुने कुरा थिएन । लेखकका लागि गर्व, आत्मसन्तुष्टि र सुखानुभूतिको विषय थियो साझाबाट पुस्तक छापिनु ।

‘स्तरीय लेखन मात्र साझाबाट छापिन्थ्यो । लेखकलाई पनि साझाबाट पुस्तक छापिएपछि मैले राम्रो लेखेछु भन्ने लाग्थ्यो । अहिले पुस्तक छापिँदा हुनेभन्दा बढी खुसी त्यसवेला साझाबाट पुस्तक छापिँदा लाग्थ्यो,’ उनी सम्झिन्छन् । कुनैवेला साझाबाट पुस्तक छाप्ने सपना बोकेर हिँड्ने पाण्डे समयक्रममा साझाको बेहाल देखेर रत्नपार्कको शान्तिवाटिकामा आमरण अनशन बसे ।

एक समय साझाबाट पुस्तक छापिने पालो पर्खिएर पाण्डुलिपि बुझाएका साहित्यकारहरू वर्षौँसम्म प्रतीक्षामा बस्थे । त्यही साझा अहिले लेखकबाट पाण्डुलिपि माग्नुपर्ने अवस्थामा पुगेको छ । साहित्यकारले साझाबाट निकालेका पुस्तक धमाधम निजी प्रकाशन गृहबाट छापिन थाले ।