साइपाल हिमाल आरोहणको प्रयास गरिरहेको एक टोली फर्कियो , बझाङ्गी चेलीसहितको टोलीको प्रयास जारी
गणेश विक / बझाङ ।
सात हजार ३१ मिटर अग्लो बझाङमा रहेको साइपाल हिमाल आरोहणको प्रयास गरिहेको एक टोली आरोहण गर्न नसकेर फर्किएको छ । करिब २५ दिन देखी आरोहणको प्रयास गरिरहेको अमेरिकी र क्यानेडिन आरोहीहरुको टोली हिमाल आरोहण गर्न असफल भएको हो ।
अमेरिकी नागरिक र्फोरेस्ट सि कोट्सको नेतृत्वमा रहेको उक्त टोली दक्षिणी मोहडाबाट साइपाल हिमाल आरोहण गर्नका लागि अक्टोवर ३ तारिखका दिन साइपाल आधार शिविर पुगेको थियो । अमेरीकाका स्की खेलाडी विलियम एस लासेल्स, ट्यालेर जोन, वेनार्ड स्ट्राग्वलेवस्की, जोन्सन थम्पसन र क्यानाडाका चाड सार्यस समेत रहेको उक्त टोलीले हिमालको चुचुरोमा पुगेर स्की खेल्दै फर्कने योजना बनाएको थियो ।
अक्टोबर २७ तारिखको विहान आरोहण दलका सदस्य मध्ये ट्यालेर जोन र वेनार्ड स्ट्राग्लेवस्की ६ हजार ७ सय मिटर सम्म पुगेको थिए । अप्रत्यासित रुपमा तापक्रम घटेको र तिव्र गतिमा हावा चलेका कारण उनिहरु चुचुरोमा पुग्न नसकी फर्किएका थिए । यो अवधीमा उनीहरुले तिन पटक साइपाल आरोहणको प्रयास गरेको तर तिन वटै प्रयास असफल भएको आरोहण दलका सहयोगी शेर्पा दिल बहादुर थापा मगरले बताए ।
‘६० डिग्रीभन्दा बढी भिरालोपन भएका कारण दक्षिणी मोहडाबाट साइपाल आरोहण गर्न उसै पनि गाह्रो छ’ उनले भने ‘त्यसै माथि लगातार हिमपात हुने र जोरले हावा चल्ने भएका कारण हाम्रो टोली चुचुरोमा पुग्न सकेन’ दिउँसो १ घण्टा र बिहान सबेर एक डेढ घण्टा जतिमात्र हावा बन्द हुने र त्यो समय चुचुरोसम्म पुग्न अपर्याप्त हुने उनको भनाइ छ ।
अमेरिकी र क्यानेडिन टोली असफल भए पनि चार जना बझाङी चेलीसहितको विश्वविख्यात आरोहीहरुको टोलीले भने आरोहणको प्रयास गरिरहेको छ । जिल्लामै पहिलोपटक साइपाल गाउँपालिकाका लक्ष्मी बुढा, संगिता रोकाया, सुर्मा गाउँपालिकाकी पवित्रा बोहरा र तल्कोट गाउँपालिकाकी सरस्वती थापाले साइपाल हिमालको दक्षिणी मोहडाबाट कार्तिकको तेस्रो हप्तातिर आरोहणको प्रयास गर्नेछन् । यो हिमालको दक्षिणी मोहडाबाट हालसम्म कसैले पनि सफल आरोहण गर्नसकेका छैनन् ।
उनीहरुलाई आरोहणमा सहयोग गर्नका लागि संसारभर रहेका आठ हजार मिटर भन्दा बढी उचाईका सबै १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गरिसकेका गिनिजबुक रेकर्डधारी स्पेनिश नागरिक डा. जर्ज इगोचेएगा र आठ हजार मिटरभन्दा माथिकै सबै हिमाल चढिसकेकी संसारकी प्रथम महिला एडुर्ने पासावनलगायत १२ जना विदेशी आरोहीको टोली साइपाल वेसक्याम्प रहेको क्षेत्र साइपाल गाउँपालिकाको औंलागाड पुगेको छ । यो टोलीमा इटालीकी ७५ वर्षीया आरोही ओडिना ग्रोसो पनि सहभागी छन् ।
आरोहण दलमा १० पटक सगरमाथाको सफल आरोहण गरिसकेका पेछोम्बे शेर्पासहितका ५ जना अनुभवी शेर्पाहरुको टोलीसमेत रहेको छ । शेर्पाहरुले आरोहण गर्नका लागि आरोहण मार्गमा डोरी टाँग्ने काम गरिरहेको र आधार शिविरबाट आरोहण दलका सदस्यहरु करिब ५ हजार ५ सय मिटरको उचाईमा रहेको हाइक्याम्पमा पुगेको पर्यटन विभागका सम्पर्क अधिकृत मुकेश डंगोलले बताए ।
यो टोली करिब १५ दिनसम्म साइपाल क्षेत्रमा रहने र मौसम अनुकूल हुनेबित्तिकै हिमाल आरोहणको प्रयास गरिने एकजना शेर्पा लाक्पा नोर्बु शेर्पाले जानकारी दिए । उनले दिनहुँजसो भइरहेको हिमपात र वेगवान हावाका कारण आरोहण मार्गमा डोरी टाँग्ने काममा समस्या भइरहेको बताए ।