चार बझाङ्गी चेलीसहित विश्व विख्यात आरोही टोली साइपाल हिमाल बेसक्याम्प पुग्यो
गणेश विक / बझाङ । साइपाल हिमाल आरोहण गर्न हिँडेको चार बझाङ्गी चेलीसहित विश्व विख्यात आरोहीको टोली बेसक्याम्प पुगेको छ ।
जिल्ला मै पहिलोपटक साइपाल गाउँपालिकाका लक्ष्मी बुढा, संगीता रोकाया, सुर्मा गाउँपालिकाकी पवित्रा बोहरा र तल्कोट गाउँपालिकाकी सरस्वती थापाले हिमाल चढ्ने साहस गरेका हुन् ।
उनीहरुले बझाङ जिल्लामा रहेको ७ हजार ३१ मिटर अग्लो साइपाल हिमालको दक्षिणी मोहडाबाट कार्तिकको १८ गते आसपासमा आरोहण गर्नेछन् । यो हिमालको दक्षिणी मोहडाबाट हालसम्म कसैले पनि सफल आरोहण गर्न सकेका छैनन् ।
उनीहरुलाई आरोहणमा सहयोग गर्नका लागि संसारभर रहेका आठ हजार मिटर भन्दा बढी उचाईका सबै १४ वटा हिमाल चढेर विश्व रेर्कड कायम गरिसकेका गिनिजबुक रेकर्डधारी स्पेनिस नागरिक डा. जर्ज इगोचेएगा र आठ हजार मिटर भन्दा माथिकै सबै हिमाल चढिसकेकी संसारकी प्रथम महिला एडुर्ने पासावन लगायत १२ जना विदेशी आरोहीको टोली साइपाल बेसक्याम्प रहेको क्षेत्र साइपाल गाउँपालिकाको औंलागाड पुगेको छ । यो टोलीमा इटालीकी ७५ वर्षीया आरोही ओडिना ग्रोसो पनि सहभागी छन् ।
आरोहण दलमा १० पटक सगरमाथाको सफल आरोहण गरिसकेका पेछोम्बे शेर्पा सहितका ५ जना अनुभवी शेर्पाहरुको टोली समेत रहेको छ । आरोहण दल करिब १५ दिनसम्म साइपाल क्षेत्रमा रहने र मौसम अनुकुल हुने वित्तिकै हिमाल आरोहणको प्रयास गरिने शेर्पा लाक्पा नोर्बु शेर्पाले जानकारी दिए ।