यस्तो कानुन बनाउँदै छ सैनामैना नगरपालिका
बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको दोस्रो नगर अधिवेशन आइतबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । सुखी सैनामैनाबासी र सम्बृद्ध सैनामैना नगरपालिका भन्ने नारा सफल बनाउन प्रथम नगरसभा निर्देशित गरिएका आर्थिक वर्षका नीति तथा कार्यक्रमहरू मध्ये मध्यावधि समीक्षा सम्म भएको प्रगति प्रतिवेदन नगरप्रमुख चित्रबहादुर कार्कीले प्रस्तुत गरेका थिए ।
सफा तथा आधुनिक सहरी सुविधा सहितको नगर बनाउन प्रथम नगर सभाले ल्याएका विविध कार्यक्रम मध्ये अल्पकालीन फोहर व्यवस्थापनमा ६० प्रतिशत् तयारी सम्पन्न भएको खानेपानी तथा सरसफाइ तर्फ बनकट्टी र फुलबारी झिमझिमिया खानेपानी योजनालाई प्रदेश तथा केन्द्रीय योजनामा समावेश गर्ने प्रक्रियामा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसै गरी योजना तथा पूर्वाधार विकासअन्तर्गत नगरपालिकातर्फ १२० ओटा सडक मध्ये २९ कि.मि. स्तर उन्नति र ११ कि.मि. ग्राभेल सम्पन्न भएको र २५ लाख भन्दा माथिका ५ ओटा सडक कालो पत्रे गर्ने काम प्रकृयागत अगाडि बढेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसै गरी केन्द्रीय योजना तर्फ सैनामैना चक्रपथ निर्माण कार्य भइरहेको सैनामैना लुम्बिनी र रामापुर लुम्बिनी सडक निर्माण कार्य भइरहेको छ, सालझण्डी तिनगिरे सुंगुरढुंगा सडक ठेक्का सम्झौता भई काम भइरहेको, रु ११ करोड ५० लाखको लगानीमा बुनपा उपमहानगरपालिका र सैनामैना नगरपालिका जोड्ने दानव नदीमा कर्साघाट पुल निर्माण कार्य भइरहेको र दक्षिण बरौली र बीचवापुर कञ्चन पुल करिब ५० प्रतिशत् काम भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै सिंचाई तथा नदी नियन्त्रणतर्फ कञ्चन नदी र दानव नदीमा दोहोरो तटबन्ध गर्ने र घमाहा खोलाको लामिरहमा उच्च बाँघ बाध सिँचाइ, जलविद्युत, पर्यटन प्रबर्धन प्रयोजनार्थ जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै कृषि तथा पशुपालनतर्फ साना सिंचाई पु¥याउने उद्देश्यले कृषक रनगरपालिकाको साझेदारीमा पम्पसेट, बोरिङ्ग अनुदान उपलब्ध गराउन सूचना प्रवाह भइरहेको र फाराम भर्ने कार्य भइरहेको प्रमुख कार्कीद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसै गरी व्यवस्थित बसोबास तथा भवन निर्माणतर्फ भवन संहिता प्रभावकारी बनाउन भूकम्प प्रविधि राष्ट्रिसमाज नेपालसँग २ वर्षको लागि सम्झौता भएको र उक्त संस्थाले रु २५००००० सहयोग उपलब्ध गराउने सम्झौता भएको प्रविेदनमा उल्लेख गरिएको छ । त्यसै गरी ४० जना डकर्मीहरुलाई भवन निर्माणसम्बन्धी तालिम, सैनामैना ११ मा २५ लाखको लागतमा सर्पदंश अस्पताल तथा स्वास्थ्य उपचार केन्द्रको ३३ प्रतिशत् काम भैसकेको, जनता आवास कार्यक्रम अन्तर्गत फूसको घर भएको दलित, मुसहर र गन्धर्व समुदायका लागि ४३ ओटा निर्माण कार्य अन्तिम चरणमा पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसै गरी संस्कृति तथा पर्यटनतर्फ १०० वर्षे भड्छा महोत्सव र दोस्रो कृषि तथा पर्यटन महोत्सव र माधी मेला सम्पन्न गराइएको कार्कीले प्रतिवेदनमा उल्लेख गरेका छन् । त्यस्तै शिक्षा तर्फ नगरशिक्षा समिति गठन गरी काम भइरहेको छ भने स्वास्थ्यमा नगरपालिकाबाट खरिद गरिएको औषधि तथा जिल्ला जनस्वास्थ्य कार्यालयबाट प्राप्त औषधि स्वास्थ्य चौकीहरूलाई नियमित रूपमा वितरण गरिएको जानकारी गराएका थिए ।
त्यस्तै सैनामैना ९ पिपल डाँडामा विद्युद सब–स्टेसन निर्माणका लागि १८ करोडको कार्यक्रम स्वस्कृत भैसकेको र कम्पाउन्ड वालको लागि १३ लाख विनियोजन गरेको र बोर्ड अनावरण भई काम सुरु भइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आर्थिक वर्ष २०७४÷७५ का लागि अनुमान गरिएको रु ५४ करोड ६७ लाख १३ हजार ५ सय ४ रुपैयाँ ९८ पैसा मध्ये १४ करोड २१ लख ६ हजार ५ सय ५० अर्थात् कूल बजेटको २६.४० प्रतिशत खर्च भएको छ । त्यसै गरी सेवा प्रवाह छिटो र छरितो बनाउन कम्प्युरबाट सेवा प्रवाह भइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नगरपालिकाले अहिलेसम्म पारित गरेका कानुनहरू
नगरपालिकाले आर्थिक ऐन २०७४, विनियोजन ऐन २०७४, नगर कार्यपालिकाको कार्य सम्पादन नियमावली २०७४, नगर कार्यपालिकाको कार्य विभाजन नियमावली २०७४, नगर कार्यपालिकाको बैठकसञ्चालन कार्यविधि २०७४, नगर सभा सञ्चालन कार्यविधि २०७४ र टोल विकास संस्था गठन तथा सञ्चालन कार्यविधि २०७४ पारित गरिसकेको छ ।
दोस्रो नगर सभाबाट पारित हुने कानुनहरू यस्ता छन्
सैनामैना नगरपालिकाको पागुन २ गते बस्ने दोस्रो नगर सभाले विभिन्न कानुनहरू पारित गर्ने कार्यसूची रहेको छ । जसमा सैनामैना नगरपालिकाको केही कानुन तर्जुमा र व्यवस्थापन गर्न बनेको ऐन २०७४, सैनामैना नगरपालिकाको केही सार्वजनिक लिखित प्रमाणिकरण र प्रकाशन कार्यविधि ऐन २०७४, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थापन गर्न बनेको ऐन २०७४, कृषि व्यावसाय प्रबर्द्धन सम्बन्धमा व्यवस्थापन गर्न बनेको ऐन २०७४, एफ.एम. रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि ऐन २०७४, सहकारी ऐन २०७४, शिक्षा ऐन तथा नियमावली २०७४, बजार अनुगम निर्देशिका २०७४, जेष्ठ नागरिक परिचयपत्र वितरण कार्यविधि २०७४ र फोहर मैला व्यवस्थापन कार्यविधि २०७४ रहेका छन् । जसलाई विद्येयक समितिले पारित गरी कार्यपालिकाको सिफारिसमा नगरसभाले पारित गरेर राजपत्रमा प्रकाशित भए पछि मात्र लागू हुने नगर प्रवक्ता रत्नबहादुर पौडेलले जानकारी दिए ।
नगरप्रमुख चित्रबहादुर कार्कीको अध्यक्षता रहेको नगर सभा हलमा आयोजित दोस्रो नगरसभा उद्धाटन कार्यक्रममा प्रदेश नं प्रदेश सभा सदस्य कमला विक को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा एमाले जिल्ला कमिटी खुसीराम चौधरी, नेपाली काङ्ग्रेस सैनामैना नगर सभापति रामप्रसाद अधिकारी, माओवादी केन्द्रका नगर अध्यक्ष नारायण न्यौपाने, राजमो जिल्ला सदस्य गणेश गौतम, सैनामैना उवा सङ्घका अध्यक्ष राजबहादुर क्षेत्री, व्यापार सङ्घका अध्यक्ष जीवनाथ पाण्डे, एकदेव पौडेल, चित्रबहादुर केसी लगायतले मन्तव्य राखेका थिए ।