‘समयमै सकिन्छ सहरी विकास आयोजना’
भैरहवा । भैरहवास्थित सिद्धार्थनगर नगरपालिकामा संचालित क्षेत्रीय सहरी विकास आयोजनाको काम लक्ष्य अनुसार भएको र समयमै समपन्न हुने आयोजनाले जनाएको छ । २०२० को जनवरी महिनाभित्र सक्ने लक्ष्यसहित २०१७ जुलाईबाट निर्माण थालिएको थियो ।
आयोजनाले अहिलेसम्म ३१ प्रतिशत प्रगति हासिल गर्नु पर्ने लक्ष्य लिएकोमा सो भन्दा १२ प्रतिशत बढी ४३ प्रतिशत लक्ष्य हासिल भइसकेको क्षेत्रीय सहरी विकास आयोजनाका व्यवस्थापक वरिष्ठ इन्जिनियर शैलेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
‘आयोजना सम्पन्न हुँदा नगरको मुहार नै फेरिन्छ’, उनले भने– ‘त्यसैले समय, गुणस्तर र नगरबासीको अपेक्षालाई ध्यानमा राख्दै अघि बढेका छौं ।’ उनले अहिले योजना संचालन भएका सडकमा मानव संशाधन प्रयोग भए पनि दोस्रो चरणमा निर्माण हुने सडक मेसिनरी प्रयोगबाट निर्माण गरिने भएकाले अझ बढी गुणस्तर कायम हुने समेत दावी गरे ।
आर्थिक तथा पर्यटकीय शहरका रुपमा विकास भइरहेको सिद्धार्थनगरमा आयोजना सम्पन्न भएपछि थप सुन्दरीकरण हुने नगरपालिकाको विश्वास छ ।
‘आन्तरिक बजेट न्यून हुँदा पनि सहरी विकास आयोजना संचालन भएकाले नगरको दु्रत गतिमा विकास भइरहेको छ’, नगर प्रमुख हरिप्रसाद अधिकारीले भने– ‘आयोजनाको प्रगति राम्रो छ, सम्पन्न भएपछि मुहार त फेरिन्छ नै भविष्यमा उपमहानगर, महानगर र मेघा सिटीको रुपमा विकास गर्न पनि थप टेवा पुग्छ ।’ उनले आफूहरुले गुणस्तरीयतालाई ख्याल गर्दै समयमै सम्पन्न गर्न ठेकेदारलाई बारम्बार ताकेता गरिरहेको बताए ।
‘मैले पटक–पटक ठेकेदार, कन्सल्ट्रयान्स र आयोजना कार्यान्वयन इकाईलाई गुणस्तर र समयावधिका बारे कुनै सम्झौता नगर्ने भनेको छु’, अधिकारीले भने– ‘कहींकतै तलमाथि भएको खण्डमा पनि तुरुन्तै सच्याउन लगाएर काम अगाडि बढाएका छौं ।’
२ अर्ब १६ करोड लागतमा चाइना गुन्जाई जेभीले निर्माण गरिरहेको सडक आयोजनाअन्तर्गत ४२ वटा सडकको ३५ किलोमीटर सडक कालोपत्रे हुने छ भने १२ किलोमीटर नाला निर्माण गरिने छ । सडकको छेउछाउ दुवैतर्फ नाला, फुटपात, खानेपानी तथा बिजुलीको लाइन, हरियाली, स्लावर बत्ति जडान र रोड फर्निचरको समेत बनाइने व्यवस्थापक श्रेष्ठले बताए । उनका अनुसार आयोजना यही गतिमा अगाडि बढे २०१९ को अन्त्यसम्म निर्माण सम्पन्न हुने छ ।
आयोजना अन्तर्गत पहिलो चरणमा विमानघाट, हाटबजार पथ, हिमाली पथ, जनतापथ, रुद्रपथ, कर्णपथ, ज्योतिपथ, सेवापथ, गल्लामण्डी देख दुर्गा कोलोनी पथ, शिप पथ, सकुनी पथ, बसन्त पथ, बृहष्पति पथलगायत १८ वटा सडकको निर्माण जारी छ । यी मध्य अधिकांश सडकको छेउछाउ नाला निर्माण, विजुलीका पोल सार्ने, रुख कटानी र सडकमा माटो पट्याउने र ग्राभेल गर्ने काम सम्पन्न भइसकेको छ ।
आयोजनाका अनुसार यी सडक वर्षायाम पछि मात्रै कालोपत्रे गरिने छ भने दुमदुमा रोड, कैलाशपथ, भैरहवा गाउँ, शहिद पथ, गोनहिया, देवपथ, नगरपालिका पथ, शान्तिपथ, ज्योतिपथ, सेवा पथलगायतका दुई दर्जन सडक आगामी आर्थिक वर्षबाट मात्र निर्माण सुरु गरिने छ ।