घोडाघोडीको उदाहरणीय कार्य: असहायलाई नगदसहित खाद्यान्न सहयोग

विशाल पाण्डेय/सुखड,कैलाली –
कैलालीको बर्दगोरिया गाउँपालिका -२ मा रहेको असहायका लागि सहयोगी हातहरू, नेपालद्वारा सञ्चालित सहारा घरमा घोडाघोडी नगरपालिकाले नगदसहित खाद्यान्न सहयोग गरेको छ ।
नगरपालिकाले शनिबार ६५ हजार नगद सहित ३ क्विन्टल चामल, ६० किलो दाल, २० किलो नुन, १ पेटी तेल र १ पेटी अण्डा सहयोग गरेको हो ।
परिवार गुमाएर सडकमा भौतारीरहेका असहायहरुलाई साहार दिई मानविय कार्य गरिरहेकाले उनीहरुको समस्यालाई मध्यनजर गर्दै उक्त सहयोग गरिएको नगर प्रमुख ममता प्रसाद चौधरीले बताए । आगामी दिनमा पनि साहारा घरलाई सक्ने जती सहयोग गर्ने आश्वासन दिदै नगर प्रमुख चौधरीले खाद्यान्न लगायतका अन्य समस्याहरु भए सिधै सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।
सहयोगका लागि नगर सरकारलाई धन्यबाद दिदै सहारा घरका संचालक बल बहादुर बिष्टले सहारा घरमा एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधी, खानेपानी लगायतका बिभिन्न समस्याहरु रहेको बारेमा नगरपालिकाको टोलीलाई जानकारी गराएका थिए । साथै उनले आर्थिक तथा अन्य सहयोग नगरेरै भए पनि एक स्वास्थ्यकर्मीको ब्यवस्थापन गरि दिन अनुरोध समेत गरेका छन् ।
सहयोग वितरण कार्यक्रममा नगर प्रमुख चौधरीका साथै प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंह, वडा नम्बर ४ का अध्यक्ष टेक बहादुर बुढा, वडा नम्बर ९ का अध्यक्ष कृष्ण शाह, नायव सुव्वा छविलाल बिनाडी लगायतको सहभागिता रहेको थियो ।
२०७० सालमा एक मानसिक रोगी किसोरी बाट सुरु भएको सहारा घरले हाल ८० जना असहायलाई सहारा दिइरहेको र ८४ जना असहायलाई सुखद पारिवारिक मिलन गराई सकेको संचालक बिष्टले बताए । उनले घर परिवारबाट अपहेलित,असाय,घर परिवार बिहीन तथा अपहेलनामा परेका सहारा बिहीनहरुलाई सहारा दिइरहेको बताए ।

