मध्यरातमा गोविन्द केसी र सरकारबीच ८ बुँदे सहमति
काठमाडौं- चिकित्सा शिक्षा सुधारका माग राखेर लगातार अनसनमा रहेका डा. गोविन्द केसी पक्ष र सरकारबीच सहमति हुने भएको छ। २७ दिनयता अनसनरत डा. केसीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक हुँदै गएपछि चौतर्फी दवावका कारण सरकारले सहमति गर्न लागेको हो ।
शनिबार राती सरकारी पक्ष र डा. केसी पक्षबीच वार्ता भएपछि सहमति गर्ने निष्कर्ष निस्किएको बताइएको छ ।
मध्यरातमा भएको सहमति अनुसार अहिले सरकारी पक्ष डा. केसी पक्षसँग हस्ताक्षर गर्न त्रिवि शिक्षण अस्पताल पुगेको बताइएको छ । स्रोतका अनुसार ८ बुँदे सहमति हुन लागेको जनाइएको छ ।
आजै राति सहमति भएपनि डा. केसीले भने आइतबार मात्र अनसन तोड्ने बताइएको छ । अबको केही बेरमा नै सहमतिपत्रमा हस्ताक्षर हुन लागेको हो।
बिहीबार वार्ता सकारात्मक भएपनि शुक्रबार एकाएक भाँडिएको थियो । शुक्रबारको वार्ता लगत्तै डा. केसी पक्षले आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरिसकेको थियो।