कोरोना नियन्त्रणमा सरकार सफल भएको प्रधानमन्त्रीको दाबी - Himal Post Himal Post
  • २८ माघ २०८१, सोमबार
  •      Mon Feb 10 2025
Logo

कोरोना नियन्त्रणमा सरकार सफल भएको प्रधानमन्त्रीको दाबी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणमा सरकार सफल भएको दाबी गर्दै यस अवधिमा भएका काम उत्साहपूर्ण काम भइरहेको दाबी गरेका छन् ।

छैटौं संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा मन्तव्य दिँदै प्रधानमन्त्रीले कोरोना नियन्त्रणमा सरकारले उल्लेख्य काम गरेको दाबी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालमा पहिलो केस फेला पर्दा हङकङमा परीक्षण गर्न पठाउनुपरेको स्मरण गराउँदै अहिले मुलुकभित्र ४८ ठाउँबाट पीसीआर र आरडीटी परीक्षण भइरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले दुई हजार रुपैयाँ शुल्कमा कोरोना परीक्षण गरिराखिएको बताउँदै कुल जनसंख्याको दुई प्रतिशतको कोरोना जाँच गर्ने सरकारको लक्ष्य पूरा हुन लागेको पनि बताए ।

“डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो,” उनले भने, “तर कोरोना नियन्त्रणमा उत्साहपूर्ण प्रगति देखापरेको छ ।”

उनले कोरोनाका कारण अन्य मुलुकको आर्थिक अवस्था चौपट भए पनि नेपालमा त्यस्तो अवस्था नरहेको र असर पनि नपरेको दाबी गरे ।

उनले उपभोगीय वस्तुको पर्याप्त मौज्दात रहेको, मूल्यवृद्धि नियन्त्रणमै रहेको र व्यापार घाटा नबढेको पनि दाबी गरे ।