सदनमा मुख्य भूमिका प्रतिपक्षीकै हो उनीहरुले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउनुपर्छ :नेता खनाल - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

सदनमा मुख्य भूमिका प्रतिपक्षीकै हो उनीहरुले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउनुपर्छ :नेता खनाल



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले सदनभित्र प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउनुपर्ने बताएका छन्।

संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुराकानी गर्दै खनालले संसदको मर्यादा र नियमवालीभित्र रहेर प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउनुपर्ने बताएका हुन्। उनले सदनमा मुख्य भूमिका प्रतिपक्षीकै हुने भन्दै प्रतिपक्षीको भावनालाई सम्मान गर्नुपर्ने तर्क गरे।

खनालले संसदमा रहेको विधिअनुसार सबैले आफ्नो धारणा राख्न पाउने बताए। उनले प्रतिपक्षीले सदनलाई गतिदिन सक्नुपर्ने बताउनुभयो । वाइडबडीको विषयमापनि प्रक्रिया अघि बढिरहेको भन्दै हत्तारिने अवस्था नरहेको उनले बताए।

यसैगरी, नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सदनमा प्रश्न गर्ने दिने वा नदिने भन्ने अधिकारी सभामुखलाई भएपनि लोकतान्त्रिक पद्धती अनुसार सदनमा खुल्ला बहस हुनुपर्ने तर्क गरे।

यस्तै, कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री ओलीलाई सदनमा सम्बोधन गर्न दिने तर, विपक्षीलाई प्रश्न गर्न नदिने सभामुख कृष्णबहादुर महराको एक पक्षीय व्यवहारका कारण विरोध गर्नु परेकाे बताए। सार्वजनिक महत्वको वक्तत्वमा प्रश्न गर्न नदिनु संसदको मर्यादाको हनन भएको उनको भनाइ छ।