संसद विघटनविरुद्ध सडकमा उत्रिने गठबन्धनको निर्णय: यस्तो छ तयारी
काठमाडौं- पाँच दलको विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन गर्ने निर्णय गरेको छ । बुधबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले प्रतिगमनविरुद्ध जनपरिचालनको कार्यक्रम अगाडि बढाउने निर्णय लिएको बताइएको छ ।बैठकले भौतिक दूरी कायम गर्दै देशका प्रमुख सहरहरुमा सडक प्रदर्शन गर्ने निर्णय गरेको हो । सडक आन्दोलनका लागि केन्द्रमा संयोजन समिति बनाउने र भ्रातृ संस्थाहरुलाई परिचालन गर्ने विषयमा पनि छलफल भएको छ ।
बुधबार साँझ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायत उपस्थित बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा गरिएको बताइएको छ ।
दोस्रो लहरको कोरोना संक्रमण घट्दै गएकाले स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै विरोधका कार्यक्रम अगाडि बढाउने गठबन्धनले निष्कर्ष निकालेको बताइएको छ । स्वास्थ्य मापदण्डको पालना गर्दै प्रधानमन्त्री ओलीले लिएको प्रतिगमनकारी निर्णयका विरुद्धमा कार्यक्रम गर्न पार्टी संगठनलाई परिचालन गरिने बताइएको छ ।
बैठकले प्रदेश सरकारहरुमा भएको सहकार्य निरन्तर राख्ने र अपूर्ण मन्त्रिपरिषदहरुलाई तत्काल पूर्णता दिने सहमति पनि गरेको छ ।