सडकबाटै संसद बोलाएर देउवालाई फाल्छौँ :गौतम - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

सडकबाटै संसद बोलाएर देउवालाई फाल्छौँ :गौतम



भक्तपुर,-नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता हस्तान्तरण गर्न आनाकानी गरिरहे सडकबाटै संसद बैठक बोलाएर नयाँ सरकार गठन गर्ने चेतावनी दिएका छन्।

भक्तपुरमा मंगलबार समय संवाद साप्ताहिकको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले सो कुरा बताएका हुन्।

‘नेपालको संविधानले दिएको अधिकारलाई प्रयोग गरेर संसद बैठक हामी बोलाउँछौं, हामीले नै सञ्चालन गर्छौं, सरकारलाई बर्खास्त गर्छौं, सिंहदरबारमा जनताका प्रधानमन्त्रीलाई राखेर साशन गर्छौँ,’ उनले भने, ‘जनताको बीचमा जानेछौँ, लाखौँ करोडौं जनताको बीचबाट घोषणा गर्नेछौँ, अनि कांग्रेस सँधाका लागि समाप्त हुनेछ।’

प्रधानमन्त्री देउवाले वाम एकतलाई भाँड्न सकिन्छ कि भनेर षड्यन्त्र गरिरहेको आरोपसमेत उनले लगाए। ‘निर्वाचन आयोगलाई कठपुतली बनाएर संविधानमा आफ्नो व्याख्या गरेर बसिरहनुभएको छ,’ उपाध्यक्ष गौतमले भने, ‘ २/४ दिन अलि बढी टिकाउन सकिन्छ कि! अनि त्यो बीचमा षड्यन्त्र सफल हुन्छ कि ! भन्ने छ, कांग्रेसको इतिहास षड्यन्त्रबाहेक केही रहेनछ भन्ने यसले पनि पुष्टि गर्छ।’

सत्तामा टाँसिएर प्रधानमन्त्रीले आफ्नो शरीरको कपडा गुमाइरहेको भन्दै गौतमले एकदिन निर्वस्त्र हुने टिप्पणी गरे। ‘डेढ महिना हुन लाग्यो, कति सक्नुहुन्छ लम्ब्याउनुस्। जति लम्ब्याउँदै हुनुहुन्छ त्यति कपडा उहाँको शरीरबाट बाहिर जाँदैछ। उहाँको शरीरमा कपडा नै बाँकी नरहेको निर्वस्त्र शेरबहादुर देउवा हुने दिन आउँछ,’ गौतमले कटाक्ष गरे।