सचिवालय बैठक बस्दै: यस्तो छ दुवै पक्षको रणनीति - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

सचिवालय बैठक बस्दै: यस्तो छ दुवै पक्षको रणनीति



काठमाडौं- आन्तरिक विवाद उग्र बन्दै गएपछि क्षतबिक्षत बनेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज मंगलबार बस्दै छ । बैठक बस्नु केहीबेर अगाडी मात्रै सुरक्षा थ्रेट बढेको भन्दै पार्टी मुख्यालयमा तय भएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सारिएको छ।

कात्तिक २८ गतेबाट सुरु भएको सचिवालयको ७० औं बैठक दिउँसो १ बजे बोलाइएको छ । बैठकमा मङ्सिर १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सचिवालय सदस्यहरूलाई सम्बोधन गरेर दिएको जवाफमाथि अरू सदस्यहरूले धारणा राख्नेछन् ।

दुई अध्यक्षले नै एकले अर्कोलाई खुइलाउनेगरी सचिवालयमा पत्रमार्फत् जवाफ दिएका थिए । गत कात्तिक २२ गते प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक डाक्न सहमतिको माग गर्दै ओलीलाई पत्र थमाएका थिए ।

ओलीले बैठक नबोलाइ कात्तिक २५ गते पत्र लेखेर जवाफ दिएका थिए । त्यसको प्रत्युत्तरमा प्रचण्डले २८ गते अर्को पत्र बुझाएका थिए । आजको सचिवालय बैठकमा छलफल हुने त्यसैको जवाफ हो ।

प्रधानमन्त्री ओलीले एकपटक सहमतिका लागि भदौ २६ मै फर्कन सार्वजनिक प्रस्ताव गरेका छन् । तर, त्यसबीचमा भएका नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठनलगायत पार्टीभित्र विवादित बनेका कदम सच्याउन तयार भने नदेखिएको स्रोतले जनाएको छ ।

पछिल्लो समय आरोपले पेचिलो बनेको यो विवादकाबीच प्रधानमन्त्री ओलीले भने यसै अवस्थामा एकैठाउँ बस्न नसकिने बताएका थिए । ओलीले प्रचण्डको आरोप र पार्टी एकसाथ जान नसकिने प्रस्ट सन्देश दिइसकेको ओलीनिकट नेताहरूको जिकिर छ ।

प्रधानमन्त्री ओली आफ्नै समूहभित्र पनि संकटमा देखिएको अवस्था भएको उनीनिकट नेताहरू नै बताउने गरेका छन् । ओलीको समुहमा पनि पछिल्लो समय अन्तरविरोध बढेको स्रोत दाबी गर्दछ । संसदीय दलका उपनेता सुवास नेम्वाङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अचिवालय बैठकमा प्रस्तुत भएको दस्तावेज तल्ला कमिटीमा लैजानु हुँदैन भन्ने पक्षमा छन् । उनीहरूले ओली–प्रचण्डबाट अब छुट्टै प्रस्ताव आउनुपर्ने अडान लिएका छन् ।

तर स्थायी कमिटि सदस्य इश्वर पोखरेल र विष्णु पौडेलको भने फरक मत रहेको स्रोतले दाबी गरेको छ ।

अर्कातिर बहुमत बोकेर बसेका प्रचण्ड नेपाल समूह भने सचिवालय बैठकमा प्रस्तुत प्रतिवेदन सचिवालयमा मात्र सिमित नगर्न पक्षमा छन् उनीहरू स्थायी कमिटि हुँदै केन्दीय कमिटीमा समेत यसको छलफल हुनुपर्ने पक्षमा छन् ।

सचिवालय बैठकमा जेजस्ता प्रस्ताव, प्रत्युत्तर आएका छन्, ती सबै पार्टीका सम्पत्ति भएकाले त्यसलाई तहगत कमिटीहरूमा छलफल गर्दै त्यसको निष्कर्ष नै पार्टी निर्णय हुनुपर्ने लाइनमा उनीहरू छन्।

बिहीबार स्थायी कमिटी बैठक तय भएको छ भने मङ्सिर २५ गते केन्द्रीय कमिटीको बैठक डाकिएको छ ।