संसद सचिवालयले आयोगलाई भन्यो: १४ जना सांसद कारबाहीमा परेका छैनन् - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

संसद सचिवालयले आयोगलाई भन्यो: १४ जना सांसद कारबाहीमा परेका छैनन्



काठमाडौं- संघीय संसद सचिवालयले १४ जना सांसदहरू पदमुक्त नभएको जानकारी निर्वाचन आयोगलाई पठाएको छ । सचिवालयले सोमबार निर्वाचन आयोगलाई जवाफ पत्र पठाएको हो ।

१४ जना सांसदलाई पदमुक्त गर्न नेकपा एमालेले दिएको सूचना विचाराधीन रहेको जानकारी निर्वाचन आयोगलाई दिएको छ ।

एमालेले १ भदौमा माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न संसद सचिवालयलाई पत्र लेखेको थियो । यसबारे सभामुखले कुनै निर्णय लिएका छैनन् । एमालेले भने उनीहरुलाई तत्काल पदमुक्त गर्न दबाव दिएको छ ।

संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश आएपछि नेकपा एमालेका नेता माधवकुमार नेपालले २ भदौमा नेकपा एकीकृत समाजवादी दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।

नेता नेपालले एमालेका ५७ केन्द्रीय सदस्यको सूची बुझाएका छन् । उनीहरुको सनाखत गर्नुअघि आयोगले एमाले सांसदहरुको विवरण उपलब्ध गराउन संसद सचिवालयलाई आग्रह गरेको थियो ।

पत्रमा सांसदहरुको विवरण आयोग स्वयंमले आफूलाई उपलब्ध गराउने गरेको स्मरण सचिवालयले गराइएको छ । साथै नेकपा एमालेले दल त्यागसम्बन्धी सूचना दर्ता गराएको र त्यो विचाराधीन रहेको बताएको छ ।

सोमबार मात्र पनि एमालेले आफूले कारबाही गरेकाहरुलाई भोलि मंगलबारको सनाखत प्रक्रियामा सहभागी नगराउन आयोग समक्ष माग गरेको छ ।