नेकपा सचिवालय वैठक बस्दै: होला त एमसीसीको छिनोफानो ?
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक आज (शनिबार) बिहान बस्दैछ ।
पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले शनिबार बिहान ९ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।
आजको बैठकमा लामो समयदेखि वहस र विवादमा रहँदै आएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषय र समसामयिक राजनीतिक विषयमा छलफल हुने नेकपा सचिवालय स्रोत बताउँछ ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली संसदबाट एमसीसी पारित गर्ने पक्षमा छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने कार्यदलको सुझाव अनुसार अगाडि बढ्नु पर्ने अडानमा देखिएका छन् । प्रचण्डसहितका नेताले कार्यदलले बनाएको प्रतिवेदनमाथि स्थायी समितिमा छलफल गर्नुपर्ने अडान राख्दै आएका छन् ।
एमसीसीको विषयमा चर्को विवाद भएपछि नेकपाले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा अध्ययन कार्यदल बनाइएको थियो । कार्यदलमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र नेता भीम रावल सदस्य थिए ।
कार्यदलले तयार पारेको प्रतिवेनमा एमसीसी परिमार्जन गरेर मात्र संसद बाट पारित गर्नुपर्ने सुझाव दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भने धेरैले एमसीसीलाई नबुझको बताउँदै आएका छन् ।