नेकपा सचिवालय बैठक बस्दै, मन्त्री थप्ने प्रस्ताव लगिँदै
काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज (मंगलबार) बस्ने भएको छ ।
आज अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हिजो भएको छलफलपछि बैठक बस्ने तय भएको दाहालको सचिवालयले जनाएको छ ।
आज बस्ने बैठकले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेको बुझिएको छ । रिक्त रहेका तीन मन्त्रालयमा नयाँ मन्त्री पठाउनेबारे सहमति गर्ने तयारी भैरहेको बताइएको छ ।
बैठकले अर्थमन्त्रीसहित तीन रिक्त मन्त्रालयमा मन्त्री नियुक्तिको प्रधानमन्त्रीले प्रस्ताव गर्नेछन । मन्त्रिपरिषद पुनर्गठन गर्ने विषयमा सहमति नाभएपछि रिक्त मन्त्रालयमा नयाँ मन्त्रीहरू नियुक्त गर्ने तयारी भएको स्रोतले बतायो।
सचिवालय बैठक शनिवार नै बोलाइएको भएपनि आवश्यक तयारी नपुगेको भन्दै आइतबारका लागि सारिएको थियो ।
तर, यहिबीचमा प्रधानमन्त्रीका ४ सल्लाहकारसहित सुरक्षा दलका सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि आइतबार बोलाइएको बैठकपनि स्थगित भएको थियो ।