सचिवले भारतमा बनेको भनी दाबी गरेको विद्युतीय बस चीनमै बनेको पाइयो  - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

सचिवले भारतमा बनेको भनी दाबी गरेको विद्युतीय बस चीनमै बनेको पाइयो 



काठमाडौं ।  पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूले सरकारले आयात गरेका बस भारतमा बनेको दाबी गरे पनि प्रमाणले भने ती बस चीनमै बनेको पाइएको आजको नागरिक दैनिकमा खबर छ ।

नागरिकलाई प्राप्त विभिन्न कागजात तथा मन्त्रालयबाट प्राप्त पत्रले बस चीनमै बनेको देखिन्छ । यसले मन्त्रालयका अधिकारीको भनाइलाई गलत साबित गर्छ। मन्त्रालयका सचिव कृष्ण देवकोटाले बिहीबार बिदाइ कार्यक्रममा भाषण गर्दै बस भारतमा बनेको दाबी गरेका थिए

उनले ती बस चीनमा बनेका हुन् भनेर रुजु गर्न नमानेपछि आफूलाई सरुवा गरेको आरोप लगाएका थिए । सचिव देवकोटा हालै युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका छन् ।

बिवाइडी अटो इन्डस्ट्री कम्पनी लिमिटेड चीनमा बनेका पाँचवटा विद्युतीय बस अहिले नक्सालस्थित ग्यारेजमा थन्काइएका छन् । देवकोटासहितका अधिकारीले बसमा प्राविधिक कमजोरी भएको भन्दै सञ्चालनमा ल्याउन इच्छा नदेखाएपछि बस थन्किएका हुन् ।

मन्त्रालयले अगस्ट २१ २०१८ मा भैरहवा भन्सार कार्यालयलाई लेखेको पत्रमा चीनबाट आयात गरिएका बसको भन्सार चुक्ता गरिएको जनाइएको छ । यस विषयमा सचिव देवकोटासँग सम्पर्क गर्दा उनले बोल्न अस्वीकार गरे। उनले मन्त्रालयसँग सम्बन्धित विषयमा अब आफ्नो कुनै चासो नरहेको बताए ।