यी हुन बिना पैसा ४० जना बच्चा पढाउँने सबिता - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

यी हुन बिना पैसा ४० जना बच्चा पढाउँने सबिता



रौतहटकाे बृन्दावन नगरपालिका–६ सिसवाटोलकी सबिता दास काखमा नानी च्यापेर बिहान बेलुकी एउटै चटारोमा भेटिन्छिन्– गाउँभरिका दलित तथा गरिब बालबालिकालाई ट्युसन पढाउँदै।

बालबालिकाहरू ढोका ढक्ढक्याउन पुग्छन् अनि दिक्क नमानी पढाउँछिन्। विद्यालयमा के सिकेर आए, गृहकार्य के गर्दै छन् भन्ने सोध्छिन् । चार वर्षदेखि उनी यही काम गरिरहेकी छन्।

प्लस टु पास गरेकी दासले हिजोआज गाउँका गरिब तथा विपन्न परिवारका छोराछोरीलाई निःशुल्क पढाएकी छन्। नर्सरीदेखि कक्षा ५ सम्मका करिब ४० जना बालबालिकाहरू उनीकहाँ आउँछन् ।

बिहान दुई र बेलुका दुई गरी चार घण्टा उनले बालबालिकालाई गृहकार्य गराउने, नयाँ पाठ पढाउने, सिकाउने र बुझाउने गर्छिन् । गरिब तथा विपन्न परिवारलाई शिक्षाको स्तर उकास्न पढाउने गरेको उनी बताउँछिन्। उनको यो कामका लागि एउटा गैरसरकारी संस्थाले मासिक १ हजार दिने गरेको छ। यो खबर आजको राजधानी दैनिकमा रौतहटबाट महेश तिमलसिनाले लेखेका छन्।

रौतहटको बृन्द्धावन नगरपालिकालगायत जिल्लाका विभिन्न १४ स्थानमा विपन्न बालबालिकाहरूका लागि सबिताजस्तै शिक्षिका खोजिएको छ । विद्यालय नगएका र जान नसकेका बालबालिकाहरूलाई निःशुल्क ट्युसन शिक्षा दिइने गरिएको छ।

आफूले शिक्षा दिएका बालबालिका कक्षामा अब्बल साबित भएको उनी बताउँछिन् । त्यसैले एक प्रकारले उनी निःशुल्क शिक्षिका पनि साबित हुन थालेकी छन् । अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय नपठाउने गरेको अवस्थामा ट्युसन शिक्षा दिएको उनको भनाइ छ।