अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने पूर्वसभासद हिरासतमा - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने पूर्वसभासद हिरासतमा



काठमाडौं- वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने भन्दै दुई व्यक्तिसँग ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा नेपाली कांग्रेसका पूर्वसांसद मीठाराम विश्वकर्मालाई वैदेशिक रोजगार विभागले पक्राउ गरेर हिरासतमा राखेको छ।

विश्वकर्माले पर्वतका ज्ञानेन्द्रबहादुर जोशी र सोही ठाँउका सञ्जय जोशीसँग पटकपटक गरी अमेरिका पठाइदिन्छु भन्दै ८ लाख रुपँयौ लिएरको उजुरी परेको विभागले जनाएको छ। रोजगारीको प्रलोभन देखाई युवालाई ठगी गरेकोमा विभागले उनलाई ४ लाख जरिवानासमेत तोकेको छ।

अमेरिका नपठाएपछि पीडितले विश्वकर्मका नाममा विभागमा गत हप्ता उजुरी दर्ता गराएको विभागका प्रवक्ता उद्धवप्रसाद रिजालले जानकारी दिए। पीडितले दिएको उजुरीको आधारमा विश्वकर्मालाई प्रहरीको सहयोगमा पक्राउ गरेको उनको भनाइ छ।

विश्वकर्माको ठगी मुद्दा यही साता वैदेशिक रोजगार न्यायाधिकरणमा दर्ता हुने विभागले जानकारी दिएको छ।

नेपाली कांग्रेसका पर्वत जिल्लाका सांसद तथा अन्तरिम व्यवस्थापिका संसदको सदस्यसमेत रहेका विश्वकर्मा ४ हप्तादेखि ठगीको मुद्दामा विभागको हिरासतमा छन्। उनी २०६४ र २०७० को संविधानसभा निर्वाचनमा पर्वतबाट समानुपातिकबाट चुनिएका थिए।

विश्वकर्माले योभन्दा अगाडि पनि अमेरिका पठाइदिन्छु भन्दै केही युवाबाट २५ लाखभन्दा बढी नगद ठगी गरेका थिए।

विश्वकर्माका राजनीतिका साथै हिन्दु धर्म प्रचार र पुस्तक लेखनमा सक्रिय छन्।