सभामुखले मर्यादाविपरीतको काम गर्दा ससंद् अवरुद्ध गर्न बाध्य भयौं : ओली - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

सभामुखले मर्यादाविपरीतको काम गर्दा ससंद् अवरुद्ध गर्न बाध्य भयौं : ओली



काठमाडौँ- नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादाविपरीतको काम गर्दा संसद् अवरुद्ध गर्न बाध्य भएको बताएको छ । सभामुख सापकोटाले प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दललाई विभाजित गर्ने असंवैधानिक,असंसदीय र पदीय मर्यादाविपरीतको काममा संलग्‍न भएका कारण संसद् बैठक लामो समयदेखि अवरुद्ध हुन पुगेको एमालेले उल्लेख गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रेस वक्तव्य जारी गर्दै सत्ता पक्षले प्रतिनिधिसभा बैठक सञ्चालन गर्न र प्रमुख प्रतिपक्षको आवाजलाई गम्भीरतापूर्वक सुन्न र सम्बोधन गर्न तयार नभएको पनि उल्लेख गरेका छन् । उनले भनेका छन् , ‘सत्तापक्षको गलत मनशायका कारण राज्यको अर्को महत्वपूर्ण अंग व्यवस्थापिकासमेत अकर्मण्य अवस्थामा पुगेको छ ।’

लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दलले गर्ने संसदीय अभ्यासलाई समेत सरकारले उपेक्षा गरेको ओलीको विज्ञप्तिमा उल्लेख छ ।

ओलीले सभामुख सापकोटाको विभेदकारी कदमभन्दा अगाडि सर्वोच्चको फैसलाको सम्बन्धमा आफ्नो गम्भीर असहमतिका बाबजुद प्रतिनिधिसभालाई जीवन्त र क्रियाशील बनाउन भूमिका आफ्नो पार्टीले खेलेको दाबी गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,’संसद् अवरोधका लागि नेकपा (एमाले) लाई दोषारोपण गर्ने सत्तापक्षले हेक्का राख्नु पर्छ सभामुखको यस्तो विभेदकारी कदमभन्दा अगाडि २०७८ साउन ३ गतेदेखि साउन मसान्तसम्म हामीले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाका सम्बन्धमा आफ्नो गम्भीर असहमतिका बाबजुद जनसरोकारका विषयलाई सशक्त ढङ्गले उठाएर प्रतिनिधिसभालाई जीवन्त र क्रियाशील बनाएका थियौं ।’

यस्तै, वर्तमान सरकार संविधानले निर्दिष्ट गरेको न्यूनतम दायित्व पूरा गर्नसमेत असफल भएको उनले बताएका छन् । सरकार राष्ट्रिय हितको रक्षामा चुकेको, महामारीमा अकर्मण्य बनेको र जनतालाई न्यूनतम राहत दिन समेत असमर्थ भएको ओलीको आरोप छ । वर्तमान सरकारका कारण राज्यका तीनवटै अंगहरू संकटोन्मुख रहेको र यसले मुलुकलाई असफलताको दिशातिर धकेल्ने जोखिम पैदा भएको विज्ञप्तिमा जनाइएको छ ।