२५ देखि ३० घर पुरिए, उद्दारका लागि सभामुख सापकोटा हेलिकप्टर लिएर जाँदै
काठमाडौं- सिन्धुपाल्चोकको जुगलमा शुक्रबार बिहान गएको पहिरोले ठुलो क्षति भएको अनुमान गरिएको छ ।
निकै ठुलो क्षति भएको जनधनको समेत क्षति गरेको खबर आएपछि प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा घटनास्थलतर्फ प्रस्थान गरेका छन्।
पहिरोमा २५ देखि ३० घर पुरिएको बताइएको छ । काठमाडौंबाट केहीबेर अघि उनी हेलिकप्टरमार्फत घटनास्थलतर्फ प्रस्थान गरेका हुन्।
घटनास्थलमा टेलिफोन सम्पर्क हुन नसक्दा सम्पूर्ण विवरण प्राप्त हुन नसकेको उनले बताए।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा शुक्रबार बिहान करिब चार बजे पहिरो जाँदा कम्तिमा पनि २२ घर पुरिएको प्रहरीले जनाएको छ।
पहिरोमा धेरै मानिस हताहत भएको आशंका गरिएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए।
प्रहरीका अनुसार कम्तिमा पनि २२ घर पुरिएको खबर आएको बताइएको छ । घटनास्थल दुर्गम ठाउँमा छ। प्रहरी पुग्न समय लाग्छ। घटनामा धेरै मान्छे हताहत भएको आशंका छ।