संसद ब्युँताउन विशेषाधिकारबारे विज्ञसँग परामर्श गर्दै सभामुख सापकोटा
काठमाडौँ- प्रतिनिधिसभा विघटन विषयमा सभामुख अग्निप्रसाद सापकोटाले संविधानविद्हरूसँग परामर्श गर्ने भएका छन् । बिहिबार संघीय संसद् नयाँ बानेश्वरमा सभामुख सापकोटाले संविधानविद्, कानुनविद् र न्यायिक क्षेत्रका विज्ञसँग परामर्श गर्ने भएका हुन् ।
दिउँसो १ बजे सुरु हुने परामर्श कार्यक्रममा कानुनसँग सम्बन्धित संस्थाका प्रतिनिधिलाई पनि बोलाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
‘संविधानविद्, कानुनी एवं न्यायिक क्षेत्रका विज्ञविशेषज्ञहरूसँग मूलतः प्रतिनिधिसभाको जेठ ८ गते गरिएको विघटनका विषयमा परामर्श गर्न लाग्नुभएको हो,’ न्यौपानेले भने ।
परामर्शमा वरिष्ठ अधिवक्ताहरू, संविधानविद्, कानुनविद्लाई बोलाइएको उनले जानकारी दिए । नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका तर्फबाट पनि परामर्श कार्यक्रममा सहभागिता रहने उनले बताए । कार्यक्रममा केही व्यक्ति प्रत्यक्ष र केही व्यक्तिहरू भर्चुअल माध्यमबाट सहभागी हुने बताइएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । प्रतिनिधिसभा विघटनको राजनीतिक दल, नागरिक समाज, संविधानविद्लगायतले विरोध गरिरहेका छन् । सभामुखले प्रतिनिधिसभा विघटनबारे यसअघि पूर्वसभामुखहरूसँग परामर्श गरेका थिए ।
संसद विघटन र पुनर्स्थापनाका सभामुखको विशेषाधिकारका बिषयमा समेत परामर्श हुने बताइएको छ ।