संसद् अधिवेशन अन्त्य गर्दा सभामुख असन्तुष्ट
काठमाडौं- सरकारले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदका दुबै सदनको अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गरेको हो।
सरकारले हठात संसद अधिवेशन अन्त्य गर्दा सभामुख अग्निप्रसाद सापकोटाले भने असहमति जनाएको बुझिएको छ ।
सोमबारको संसद बैठककाे अन्त्यमा सभामुख सापकोटाले सरकारको सिफारिस बमोजिम राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेको पत्र प्राप्त भएको भन्दै पढेर सुनाएका थिए।
संसदको चालु अधिवेशन अन्त्य गर्ने विषयमा सभामुखसँग प्रधानमन्त्री शेरबहादुर देउवा र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छलफल गरेका थिए। तर, सभामुखले तत्काल संसद अन्त्य गर्नुभन्दा यसलाई बिजनेससहित प्रभावकारी बनाउँदा उपयुक्त हुने धारणा राखेको सभामुखको सचिवालयले जनाएको छ।
दोस्रो पटक विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना भएको एक महिना पुगे पनि यो अवधि खासै उपलब्धिमूलक बन्न सकेन। केही अध्यादेश र विधेयकहरु संसदमा अलपत्र भए पनि यो अधिवेशनमा छलफल हुन पाएन।
सरकारले पर्याप्त बिजनेस दिन नसक्दा संसद बैठकहरू शून्य र विशेष समयमा सांसदका भाषण, संसदीय समितिका प्रतिवेदन र शोक प्रस्तावमै सिमित बन्यो।
केपी ओली नेतृत्वको सरकारले जस्तै यो सरकारले पनि संसद अधिवेशन रोकेर केही अध्यादेश ल्याउने तयारी गरेको स्रोतले बतायो।