प्रधानमन्त्री र कांग्रेसका शब्द रेकर्डबाट हटाइयो - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

प्रधानमन्त्री र कांग्रेसका शब्द रेकर्डबाट हटाइयो



काठमाडौं -सभामुख कृष्णबहादुर महराले वैशाख २० गते संसदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको ‘निम्छरो’ शब्द हटाउन निर्देशन दिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग अनुसार सभामुख महराले प्रतिनिधि सभाको शुक्रवारको बैठकको शुरूमै असंसदीय शब्द हटाउन निर्देशन दिएका हुन् । सभामुखको निर्देशनप्रति कांग्रेस सांसदले टेबल ठटाएर स्वागत गरेका थिए ।

सभामुख महराले भने, ‘सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीको स्पष्टिकरण र जिज्ञासाका क्रममा व्यक्त भएका संसदीय मर्यादा अनुकुल नभएका शब्द अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु ।’

त्यसलगत्तै नेकपाका खगराज अधिकारीले नियमापत्ति गर्दै सांसदहरूबाट प्रयोग भएका असंसदीय शब्द हटाउन माग गरे । महराले माननीय सदस्यको जिज्ञासाका क्रममा प्रयोग भएका सबै असंसदीय शब्द हटाउन निर्देशन दिएको बताए ।

यसअघि प्रधानमन्त्री ओलीले ‘निम्छरो’ प्रश्नको जवाफ नदिने भनेपछि कांग्रेसले संसदमा हंगामा गरेको थियो ।