सवारी चाप बढेपछि लक्जमबर्गमा सार्वजनिक यातायात नि: शुल्क - Himal Post Himal Post
  • ११ मंसिर २०८१, मंगलवार
  •      Tue Nov 26 2024
Logo

सवारी चाप बढेपछि लक्जमबर्गमा सार्वजनिक यातायात नि: शुल्क



एजेन्सी- लक्जम्बर्ग आफ्ना सबै नागरिकलाई नि:शुल्क सार्वजनिक यातायात प्रदान गर्ने संसारकै पहिलो देश बनेको छ ।

फेब्रुअरी २९ देखि लक्जमबर्ग सबै नागरिकका लागि सार्वजनिक यातायात नि:शुल्क प्रदान गर्ने पहिलो देश बनेको हो ।

आजदेखि लक्जमबर्गका नागरिकहरुले बस, रेल तथा ट्राममा यात्रा गर्दा पैसा तिर्नु पर्नेछैन । यो सेवा आम नागरिकले २४ घन्टा नै पाउने छन् ।

लक्जमबर्गका पब्लिक वक्र्स मिनिस्टर फ्रान्कोइस बौसले नि:शुल्क यातायात सेवा लागू भएको घोषणा गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यहाँ डेमोक्रेटिक पार्टी, लेफ्ट र ग्रीन्स पार्टीको संयुक्त सरकार छ ।

सन् २०१८ मा लक्जमबर्ग नयाँ सरकार बन्ने समयमा सार्वजनिक यातायात नि:शुल्क बनाउने घोषणा गरिएको थियो । लक्जमबर्गमा ६ लाख नागरिक रहेका छन् ।

झण्डै दुई लाख विदेशी कामदार र वर्षमा घुम्नका लागि आउने लाखौँ पर्यटकले पनि यो सुविधा प्राप्त गर्ने भएका छन् ।

देशमा बढ्दो सवारी चापलाई कम गर्न यस्तो योजना लागू गरिएको सरकारले जनाएको छ । लक्जमबर्गमा हरेक ५ जनामा एक जनाले मात्र सार्वजनिक यातायात प्रयोग गर्छन् ।

अब यो संख्या बढेर ३ पुग्ने अनुमान गरिएको छ ।