ओली सरकारसंग सम्बन्ध बिच्छेद गर्दै राजपा
काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले केपी शर्मा ओली नेतृत्वको सरकारबाट सुधारको उम्मिद सकिएको बताएका छन् ।
उनले मधेसका माग संवोधन गर्न सरकार अनिच्छुक देखिएको भन्दै अब माग नै पूरा गर्न निरश देखिने हो भने आन्दोलनको विकल्प छैन भने । उनले सरकारलाई दवाव नदिइ केही नहुने भन्दै चाडपर्व सकिएपछि आन्दोलनमा उत्रन वाध्य हुने बताए ।
संघर्षमा जाँदा दोस्ती खतम हुने भन्दै नेता महतोले ओली सरकारलाई दिएको समर्थन फिर्ता हुने बताए ।
उनले भने, ‘संविधान संशोधनको आवश्यकता देखेर आवाज उठाएका हौं । सरकारले संशोधन गर्ने भनेकै थियो । तर इच्छा देखाएन ।’
महतोले यो सरकारले कुनै पनि काम नगरेको आरोप लगाए । उनले भने, ‘बलात्कारको घटना निकै बढेको छ । असुरक्षा बढ्यो । चाडबाडमा लाग्ने मेला र पूजामा झन् बढी खतरा भयो ।’
यो सरकारले शान्ति सुरक्षा दिन नसकेको, सुशासन कायम राख्न नसकेको र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप पनि उनले लगाए ।