सबल नेपालको छैठौं वार्षिकउत्सव:वृद्धाश्रममा खाजा र खाद्यान्न सहयोग
बुटवल : सबल नेपाल मिडिया प्रालीद्धारा प्रकाशित सबल नेपाल साप्ताहिकले आफ्नो छैठौं वार्षिकउत्सव मनाएको छ । पत्रिकाले भैरहवाको शान्तिनगरस्थित श्री सत्य साइ सेवा वृद्धाश्रममा रहनुभएका करिब १८ जना बुवा आमालाई खाजा खुवाई खाद्यान्न सहयोग गरी वार्षिकउत्सव मनाएको हो ।
सहयोग हस्तानतरण कार्यक्रमका प्रमुख अतिथि श्री सत्य साइ सेवा वृद्धाश्रमका अध्यक्ष माया खरेलले पत्रिकाको वार्षिकउत्सवको शुभकामना दिँदै आश्रममा गरेको सहयोगको प्रशंसा गर्नुभयो ।
साथै वहाँले आगामी दिनमा यस्ता कार्यमा लागिरहने प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभयो
२०६८ सालबाट मासिक अङ्क सुरु गरेको पत्रिकाले दोस्रो वर्ष प्रवेशसँगै साप्ताहिक अङ्क प्रकाशन गरी हालसम्म निरन्तर प्रकाशन हुँदै आएको छ । विगतका वर्षहरूमा अन्य कार्यक्रम गरिँदै आएकोे र सामाजिक उत्तरदायित्व वहन गर्दै यस वर्ष सामाजिक क्षेत्रमा सहयोग गरेको पत्रिकाका प्रधान सम्पादक अमृत पाण्डेयले जानकारी दिनुभयो ।
साथै पत्रिकाले प्रत्येक वर्ष एक जना पत्रकारलाई सबल नेपाल युवा पत्रकारिता पुरस्कारबाट पनि सम्मान गर्दै आएको छ । यस वर्ष एक समारोहका बिच पुरस्कृत गरिने पत्रिकाका सम्पादक सन्जु पौडेलले बताउनुभयो । सबल नेपाल मिडिया प्रालीले २०७४ देखि सबल पोस्ट अनलाइन पत्रिका समेत सञ्चालनमा ल्याएको छ । पत्रिकाले २०७२ सालबाट सुरु गरेको अन्तरमिडिया कप फुटसल प्रतियोगिता लाई यस वर्ष पनि निरन्तरता दिइने छ ।
पत्रिकाका प्रधान सम्पादक अमृत पाण्डेयको अध्यक्षता रहेको कार्यक्रममा पत्रिकाका संवाददाताहरू झविन्द्र भण्डारी, प्रकाश न्यौपाने लगायत श्री सत्य साइ सेवा सङ्गठन प्रदेश न. ५ का सह युवा संयोजक योगेश गौतम, साइ युवा सीमा गुरुङ लगायतले बोल्नुभएको थियो ।