सबै सांस्कृतिक चाडपर्वमा सार्वजनिक बिदा दिन गगन थापाको सरकारसँग माग - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

सबै सांस्कृतिक चाडपर्वमा सार्वजनिक बिदा दिन गगन थापाको सरकारसँग माग



चितवन। नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले नेपालका सबै सांस्कृतिक चाडपर्वमा सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका छन् ।

आइतबार चितवनको भरतपुरमा तमु ल्होसारको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले नेपालका मौलिक संस्कृति संरक्षण गर्ने बेला आएको भन्दै सरकारले सार्वजनिक बिदा दिनुपर्ने बताए । उनले सरकारलाई प्रश्न गर्दै भने, ‘मौलिक सांस्कृतिक चाडपर्वमा बिदा नदिएर नेपालको समृद्धि रोकिएको हो ?’

थापाले सरकारको यस्तो गतिविधिले जनताको मन दुख्ने र देशमा थप मुठभेडको अवस्था सिर्जना हुन सक्नेतर्फ सचेत बन्नुपर्ने बताए । उनले तमु ल्होसारका अवसरमा गण्डकी प्रदेशले बिदा दिँदा प्रदेश ३ ले पनि बिदा दिनुपर्ने बताए ।

थापाले नेपालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालाबाट प्रारम्भ भएका सांस्कृतिक चाडहरुमा दिने बिदालाई पुनर्स्थापित गराउनै पर्ने बताए । उनले जनताले उठाएका आवाजलाई सरकारले बेवास्ता गरे संघर्षबाट भए पनि सरकारलाई दवाव दिनुपर्ने बताए ।

थापाले तमु ल्होसारको अवसरमा प्रधानमन्त्री केपी ओलीले समृद्धि र कांग्रेस सभापति शेरबहादुर देउवाले सद्भावलाई जोड दिएर शुभकामना दिएको प्रसंगमाथि टिप्पणी गर्दै भने, ‘मन दुखाएर समृद्धि आउँदैन, जनताले अधिकार प्राप्त गरेको महसुस गरेमा मात्रै शान्ति र सद्भाव हुन्छ ।’

तमु ह्योल छोजधि गुरुङ राष्ट्रिय परिषद् चितवनको आयोजनामा भएको कार्यक्रममा प्रदेश सांसदहरु विजय सुवेदी, मिलनबाबु श्रेष्ठ, रिना गुरुङलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा ३ जना विद्यार्थीलाई पुरस्कृतसमेत गरिएको थियो ।