सबै पत्रकारलाई बदनाम गरायो : उपप्रधानमन्त्री यादव - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

सबै पत्रकारलाई बदनाम गरायो : उपप्रधानमन्त्री यादव



काठमाडौँ – समाजवादी पार्टी, नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले हिजो एभिन्युज टेलिभिजनको प्रत्यक्ष प्रशारणमा आफूलाई ‘तपाईँ जानसक्नुहुन्छ’ भनेपछि कार्यक्रम छाडेर हिँडेको विषयमा आफूले कुनै पनि प्रतिक्रिया जनाइरहनु आवश्यक नरहेको बताएका छन्।

काठमाडौंप्रेससँग सङ्क्षिप्त कुरा गर्दै उनले भने, ‘यो मेरो व्यक्तिगत कुरा हैन। यसले सबै पत्रकारलाई बद्‌नाम गरायो नि !’

सामाजिक सञ्जालमा देखिएको त्यसको प्रतिक्रियाबारे भने, ‘ठीकै छ।’ उपप्रधानमन्त्री यादवले भने,‘ठीक छ। त्यो त यहाँहरूले नै जज गर्ने विषय हो। इथिक्स र मोरालिटी लस्ट भइसकेपछि बाँकी के कमेन्ट गर्ने ? म कमेन्ट गर्न सक्दिनँ।’

मिडियाले अतिथि भनेर बोलाएर दुर्व्यवहार गर्‍यो भन्ने तपाईँको भनाइ हो भन्ने अर्को प्रश्नमा उनले भने, ‘नैतिकता लस भएपछि, इथिक्स पनि नरहेपछि पत्रकारिताको न्यूनतम मोरालिटी लस्ट भएपछि सबै पत्रकारलाई बद्‌नाम गरायो नि। यो मेरो व्यक्तिगत कुरा हैन।’

उता एभिन्युज टिभीका समाचार प्रमुख चिरञ्जीवी शाहले भने आफूले जुनसुकै पनि चुनौतीको सामना गर्ने
बताए । उनले भने, ‘अन्तर्वार्तामा सवालजबाफ त भइहाल्छ। उहाँले माइक आफैँ निकाल्नुभएको हो। कि चाहिँ उहाँलाई अनुनयविनय गर्नुपर्थ्यो।’

उनले अन्तर्वार्ताको विषयलाई लिएर आफ्नो कार्यालयमा तोडफोड भएको बताउँदै भने, ‘हामी जुनसुकै चुनौतीलाई पनि सामना गर्न तयार छौँ। कार्यालय आक्रमणको घोर भत्र्सना गर्दछौँ।’
काठमाडौँप्रेसबाट