अहिलेका सबै मन्त्री ठिक छन् : प्रम ओली
विराटनगर-प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै मन्त्रिमण्डल हेरफेर नहुने प्रस्ट पारेका छन् । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले रिक्त रहेको मन्त्री पद बहाली हुने तर मन्त्रिमण्डल भने अहिले नै पुनर्गठन नहुने प्रष्ट पारे ।
खाली रहेको मन्त्रालयमा नयाँ मन्त्रीको बहाली चाँडै हुने भन्दै तर मन्त्रिमण्डल फेरबदल गर्ने पक्षमा भने अहिले आफू नरहेको उनले बताए । “मन्त्रिमण्डल पुनर्गठन हुन्छ भन्ने विषयमा बाहिर आएको हल्ला निराधार हो,” प्रधानमन्त्री ओलीले भने, “खाली रहेको मन्त्रालयमा चाहिँ छिट्टै मन्त्री नियुक्त हुन्छन् ।” उनले सबै मन्त्रीहरूले सन्तोषजनक रुपमै काम गरिरहेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले विप्लव समूहले बम पड्काएर विध्वंश मच्चाउन खोजेकै कारण प्रतिबन्ध लगाइएको बताए । ओलीले विप्लव समूह कुनै मान्यता प्राप्त संस्था नभएको भन्दै धम्काएर लुटपाट गरेर मान्छे मारेर विप्लव समूहले आतंक मचाएकाले प्रतिबन्ध लगाउनु परेको प्रस्ट पारे । “लुटेरा समूहलाई प्रतिबन्ध लगाउँदा किन रुवाबासी भएको हो मैले बुभ्mन सकेको छैन,” प्रधानमन्त्री ओलीले भने, “विप्लव समूहलाई सरकारले प्रतिबन्ध मात्रै नभई नियन्त्रण गर्छ ।”
अब कसैले जतिसुकै रुवावासी गरे पनि सरकारले गरेको निर्णय फिर्ता नहुने प्रस्ट पारे । विप्लव समूहप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका ओलीले विप्लव समूह मान्यताप्राप्त संस्था नभएको उल्लेख गरे । “कुनै कार्यालयमा दर्ता नभएको अनधिकृत समूह हो,” उनले भने, “अहिले प्रतिबन्ध लगाएको केमा हो भन्दा कहिँ दर्ता भएको थियो र ? नेकपा विप्लव समूह भनेर चिनिने झुन्ड मात्रै हो ।”
ओलीले सीके राउतसँगको सहमतिले नेपालमा विखन्डनवादी र पृथकतावादी सोच र व्यवहार समाप्त गरेको बताए । उनले शान्ति सुरक्षा प्रदान गर्न सरकार दृढ रहेको बताउँदै कुनै पनि वहानामा शान्ति सुरक्षा खल्बलाउन खोज्ने तत्वलाई सरकारले नछाड्ने प्रस्ट पारे । नेकपाका अध्यक्षसमेत रहेका ओलीले पार्टी एकताको विषय अन्तिम चरणमा पुगेको समेत बताए ।
आइतबार नै कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा आयोजित फलफूल तथा तरकारी थोक बजार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कानुनबमोजिम बाहेकका कुनै पनि काम गर्न सरकारले छुट नदिने बताए । उनले चन्दाका नाममा जनतालाई धम्काउने र त्रास देखाउने गतिविधि लोकतन्त्रमा नचल्ने प्रष्ट पारे ।
प्रधानमन्त्री ओलीले पृथकतावाद समाप्त भएकाले शान्तिपूर्ण ढङ्गले देश सञ्चालनमा लाग्न सबैलाई आग्रह गरे । लोकतन्त्रको आवरणमा नेत्रविक्रम चन्द समूहले गरेका अराजक गतिविधिमा प्रतिबन्ध लगाइएको प्रष्ट पार्दै उनले कानुनी परिधिभित्र आफ्ना राजनीतिक क्रियाकलाप गर्न र हतियार बुझाउन सरकारले समय दिएको स्पष्ट गरे ।
प्रधानमन्त्री ओलीले कृषिप्रधान मुलुकमा राष्ट्रिय आयमा देखिएको योगदानले कृषिप्रधान देश भन्न सक्ने अवस्था नरहेको बताउँदै कृषि उत्पादन र उत्पादकत्व बढाउन आग्रह गरे । उनले यस किसिमको बजार अन्य जिल्लामा पनि विस्तार गरिने तथा कृषि पेशालाई मर्या्दित बनाउन र युवालाई यसमा समाहित गर्नका लागि कृषिको आधुनिकीकरण र यान्त्रिकीकरण गर्न सरकार लागिपरेको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले बजारको साँचो प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरे भने जग्गादाता जनप्रिय मावि, कटहरी गाउँपालिका अध्यक्ष र निर्माण कम्पनीलाई सम्मान गरे । सो अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण शुरु भइसकेको जानकारी दिँदै सो बजारलाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालन गर्न प्रदेश सरकारले नियमन गर्ने बताए । कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले देशभरिमा ३१ कृषि बजार र केही शीतगृह बनाउने सरकारको योजना रहेको जानकारी दिइन् ।