‘सबै जाति,भाषा र संस्कृतिको सम्मान गर्नुपर्छ’–मुख्यमन्त्री भट्ट - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

‘सबै जाति,भाषा र संस्कृतिको सम्मान गर्नुपर्छ’–मुख्यमन्त्री भट्ट



रञ्जित लामा / धनगढी,कैैैलाली । 
सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले नेपाल बहुजाति, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश भएकाले सवै जाति, भाषा र संस्कृतिको सम्मान गर्नु पर्ने बताए ।

सोमबार नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति कञ्चनपुरको ज्ञापन–पत्र बुझ्दै मुख्य मन्त्री भट्टले
आफ्नो मौलिक संस्कृति र जातीय पहिचानका लागि जातजातिका बीच संगठित हुनु आवश्यक रहेको बताए । ‘एकले अर्कालाई सम्मान गर्ने र सहकार्यको माध्यमबाट अगाडि बढ्ने परिपाटीले मात्र सिङ्गो राष्ट्रको विकास सम्भब छ ।’ ‘हाम्रो विविधता हाम्रो विरासत भएकोले यस विविधतालाई चिन्न आवश्यक छ ।’ –उनले भने ‘तामाङहरुको यो सोनाम ल्होछार पर्बले राष्ट्रिय एवं भावनात्मक एकता, भातृत्व तथा सामाजिक विकासमा लाग्ने प्रेरणा मिलोस् ।’

यही माघ २१ र २२ गते कञ्चनपुरको पुनर्वास नगरपालिका–३ स्थित आई.बी.आर.डी.को पैसठ्ठी बिगाहमा हुन गईरहेको २८५५ औं सोनाम ल्होछारको सांस्कृतिक कार्यक्रमलाई सभ्य र भब्य बनाउँन नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति कञ्चनपुरका अध्यक्ष नरबीर मोक्तानको नेतृत्वमा सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सामू ज्ञापन–पत्र बुझाएका हुन् ।

ज्ञापन–पत्रमा अर्थ बिना अर्थ नरहने कुरालाई उजागर गर्दै कार्यक्रमलाई अर्थपूर्ण बनाउँन प्रदेशलाई आर्थिक सहयोगको अपिल गरेको छ । देश संघीयतामा रुपान्तरण भइसकेकोले सबै जातजातीलाई प्रदेश सरकारको समान किसिमको ब्यबहार हुनुपर्ने ज्ञापन–पत्रमा उल्लेख छ ।

खासगरी तामाङ जातिको समाजिक, सांस्कृतिक एंव धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्वपूर्ण भूमिका रहेको नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति कञ्चनपुरका अध्यक्ष नरबीर मोक्तानले बताए । ‘यस पर्बले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई प्रतिविम्बित गर्दछ ।’ –उनले भने ‘ल्हो को अर्थ साल, वर्ष, सम्वत, उमेर र छारको अर्थ नयाँ अर्थात ल्होछारको अर्थ नयाँ वर्ष हो ।’
गणितमा आधारित ल्हो परम्परा तामाङ संस्कृतिकै अभिन्न अंग भएको नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति कैलालीका अध्यक्ष केशब थिङले बताए ।

‘ल्होछार पर्व माघशुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने भएपनि विशेष गरेर तामाङहरुको घर–घरमा र गुम्बा पूजा गरी, मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने गरिन्छ ।’ उनले भने ‘सार्वजानिक स्थानहरुमा दज्र्यू गाड्ने, छो प्रसादहरु वितरण गर्ने, चेलीबेटी, कुटुम्बको भेटघाट गरी शुभकामना आदानप्रदान र सामुहिक प्रीतिभोज तथा सांस्कृतिक कार्यक्रम गरेर मनाउँने गरिन्छ ।’

‘ल्हो’ अर्थात् वर्षहरु बाह्रवटा हुन्छन् र ती वर्षका नामहरुलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपञ्छी र जीवजन्तुका नामबाट राखिएको नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति कञ्चनपुरका सचिब लालमन तामाङले बताए । ‘मुसाबाट शुरु हुने यी वर्षहरु जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छ ।’–उनले भने ‘२८५५ औं सोनाम ल्होछार सुङ्गुर (फागरड्वा ल्हो) वर्ग अन्तर्गतको नयाँ वर्षका रुपमा मनाउँदैछौं ।’

नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति कञ्चनपुरद्वारा सोनाम ल्होछारको अवसरमा आयोजना हुनलागेको दुईदिने सांस्कृतिक कार्यक्रममा तामाङ राष्ट्रिय कलाकारहरु गायक बाबू जिम्बा र गायिका, डान्सर तथा मोडेल ऋतु तामाङ वाईबाको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।