परिवर्तनका सबै एजेण्डा कांग्रेसकै हुन: पौडेल - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

परिवर्तनका सबै एजेण्डा कांग्रेसकै हुन: पौडेल



काठमाडौं- कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १५ साउनदेखि देशभर कांग्रेसले गर्ने विरोध सरकारलाई चेतावनीका लागि भएको बताएका छन्।

आफू निकट महिला संघका जिल्ला सभापतिहरुको दुई दिने भेलाको सोमबार समापन गर्दै पौडेलले कांग्रेसको चेतावनीले सरकार सच्चिएन र निरंकुशताको बाटोमा अगाडि बढ्न खोजे पार्टी आन्दोलनमा होमिने बताए।

‘सरकार निरंकुशताको बाटोमा हिड्न थालेको छ। निषेधित क्षेत्रका नाममा जथाभावी तारबार लगाउन थालेका छ’, पौडेलले भने ‘जथाभावी कर असुल्न र  मंहगी बढाउन लागेको सरकार सच्चिएन भने आन्दोलन गर्नुको विकल्प छैन्।’

प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस एजेण्डाविहिन भएको टिप्पणीप्रति पौडेलले जनताका एजेण्डा नै कांग्रेसको भएको बताए। उनले भने,‘गुणस्तरिय र गरिब जनताको छोराछोरीले पढ्न सक्ने चिकित्सा शिक्षाको माग डा गोविन्द केसीले उठाएकाले त्यो जनताको एजेण्डा हो। त्यो कांग्रेसको पनि हो।’

उनले मंहगीको विरोधमा आमनागरिक देखिएकाले मंहगी पनि कांग्रेसको एजेण्डा भएको बताए। प्रधानमन्त्री जनताको पक्षमा काम गर्ने भन्दा प्रतिपक्षलाई आरोप लगाउँदै हिड्ने काममा ब्यस्त भएको आरोप लगाए।

उनले भने,‘प्रधानमन्त्रीले प्रतिपक्षलाई आरोप लगाउने होइन, जनताप्रति जवाफदेही हुने हो।’उनले वर्तमान सरकार निरंकुश, एकलौटी र पक्षपाती भएको टिप्पणी गर्दै अहिले कर्मचारी, नगारिक समाज सवै सरकारको विरोधमा रहेको बताए।