रुपन्देहीका सम्पूर्ण शिक्षण संस्था बन्द, यातायातमा जोर-विजोर
बुटवल- रुपन्देही जिल्लामा कोरोना संक्रमणको अवस्था चिन्ताजनक बनेपछि सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरिएको छ । रुपन्देहीमा १६ वटा स्थानीय तह मध्ये केही स्थानीय तहमा पठनपठान बन्द भएको थियो भने केहीले जारी राखेका थिए ।
संक्रमण व्यापक फैलिएपछि पछिल्लो अवस्थालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ लगायत र जिल्लाका सबै स्थानीय तहका प्रमुखबीच आइतबार भैरहवामा बसेको बैठकले जिल्लाको सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।
साथै सबै किसिमका पूर्वनिर्धारित परीक्षाहरु समेत हाललाई स्थगन गर्ने बैठकले निर्णय गरेको छ । यस्तै सार्वजनिक तथा निजी यातायातका साधनमा बैशाख १४ गतेदेखि जोर–विजोर प्रणाली लागु गरी संचालनको व्यवस्था मिलाउने समेत निर्णय भएको छ ।
त्यस्तै सबै स्थानीय तहले संक्रमितको ओसारपसारका लागि कम्तीमा एउटा ‘डेडिकेटेड एम्बुलेन्स’ को व्यवस्थापन गर्ने, सामुदायिक आइसोलेसन र होम आइसोलेसनहरुको क्षमता विकास गरी पूर्वतयारी अवस्थामा रहने र स्वास्थ्य मापदण्डको पालना गर्नका लागि जनचेतनामूलक कार्यक्रमहरु स्थानीयस्तरसम्म पुर्याउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।