रुपन्देहीमा अब बजार दिनभर खुल्ने, गाडी चलाउन नपाइने - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

रुपन्देहीमा अब बजार दिनभर खुल्ने, गाडी चलाउन नपाइने



बुटवल- रुपन्देहीमा निषेधाज्ञाको मोडल फेरिएको छ । अब दिनभर व्यापार व्यवसाय संचालन गर्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले नयाँ मोडलमा निषेधाज्ञा गर्ने जानकारी गराएको हो । तेस्रो चरणमा लगाइएको निषेधाज्ञा समयावधि शनिबार राति १२ बजे सकिदैछ।

तीन चरणमा २० दिनसम्म लगाइएको निषेधाज्ञामा पनि संक्रमणको ग्राफ बढ्दो छ। तेस्रो चरणको निषेधाज्ञा अवधि सकिन लागेको दिन रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले दिनभर व्यापार व्यवसाय संचालन गर्न पाउने गरी चौथो चरणको अगामी भदौ २८ गतेसम्म निषेधाज्ञाको आदेश गरेका छन्।

पन्थले जारी गरेको आदेशमा निषेधाज्ञा अवधिमा अति आवश्यक दैनिक उभोग्य वस्तु र सेवा बिहान ९ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म संचालन गर्न सकिने उल्लेख छ।

त्यस्तै व्यापार व्यवसाय बिहान ११ बजेदेखि ६ बजेसम्म संचालन गर्न सकिने बताइएको छ। यस्तै भीडभाड नहुने गरी सरकारी कार्यालयले सेवा प्रवाह गर्ने, बैंक वित्तीय संस्थाले नियमित सेवा दिनसक्ने लगायत आदेश दिइएको छ।

प्रशासनले बजार खोल्न अनुमति दिएपनि मुख्य राजमार्ग र अत्यावश्यकबाहेक सबै प्रकारका निजी तथा सार्वजनिक यातायात संचालनमा रोक लगाएको छ।

यसअघि पनि सवारी संचालनमा रोक लगाउने आदेश भएपनि कार्यान्वयन हुन सकेको थिएन। यस पटक पनि कार्यान्वयन नभएमा बजारमा भीडभाड बढ्ने र संक्रमण झन फैलिने सम्भावना छ।

रुपन्देही दैनिक ५० जनाको हाराहारीमा नयाँ संक्रमित फेला परिरहेका छन्। भैरहवा र बुटवल रहेको बजार क्षेत्रमा पनि संक्रमण नियन्त्रणमा आउन सकेको छैन।

भीडभाडलाई नियन्त्रण गर्न सवारी साधन संचालनमा रोक लगाएर व्यापार व्यवसाय संचालनको अनुमति दिइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए।

पन्थले स्वास्थ्य मापदण्ड पालन गरेर सबैले काम गर्नुपर्ने बताउँदै आदेशको उल्लंघन गर्नेलाई कारवाही गरिने बताए।