रुपन्देहीमा प्लाष्टिक झोला निषेध - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

रुपन्देहीमा प्लाष्टिक झोला निषेध



बुटवल– रुपन्देहीको तिलोत्तमालाई प्लाष्टिक झोला निषेधित नगरपालिका बनाउन शनिबार मणिग्राममा सम्पन्न सरोकारवालाहरुको बैठकले आउँदो वैशाख १ गतेबाट अभियान थाल्ने निर्णय गरेको हो ।

प्लाष्टिक झोला निषेधित अभियान सञ्चालन समितिका संयोजक केशवराज न्यौपानेले वैशाख १ गते बिहान ७ बजे नयाँमिल चोकमा प्लाष्टिक झोला निषेधित अभियान घोषणासभा आयोजना गर्ने बताए ।

सो घोषणासभामा अभियान सञ्चालनको सन्देशक दिइनुका साथै प्लाष्टिक झोलाको विकल्पका बारेमा सम्बद्ध सबैलाई जानकारी गराइने संयोजक न्यौपानेले बताए । तिलोत्तमाले अभियानसँगै आवश्यक तयारी पूरा गरेर नगरलाई प्लाष्टिक झोला र प्लाष्टिक गिलास निषेधित क्षेत्र घोषणा गरिने जनाएको छ ।

बैठकमा नगर प्रमुख बासुदेव घिमिरेले प्लास्टिक झोलाको प्रयोगबाट मानव स्वास्थ्य, वातावरण तथा सहरी सौन्दर्यमा प्रतिकूल प्रभाव परिरहेको बताउँदै नगरपालिकाले ती झोलाको प्रयोग, आयात, निर्यात, वितरण गर्न नपाउने व्यवस्था गर्न थालेको जानकारी गराए ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले तिलोत्तमालाई प्लास्टिक झोलामुक्त नगरपालिका बनाउने अभियान सुरु गर्न थालिएको बताउँदै यसमा सहयोग गर्न सबै नगरबासीलाई आग्रह गरे । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष ध्रुव धितालले प्लाष्टिक झोलामुक्त नगर बनाउने अभियान निकै सकारात्मक रहेको बताउँदै यो अभियानलाई सबैले सघाउनुपर्ने उल्लेख गरे ।

शान्ति नमूना माविका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले नगरपालिकाले सुरु गर्न थालेको अभियान निकै राम्रो भएको बताउँदै अभियानको सन्देशलाई टोल–टोलमा पुर्याइनुपर्नेमा जोड दिए ।

तिलोत्तमा व्यापार संघका अध्यक्ष झविन्द्र प्रसाद कंडेल, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी, घरेलु तथा साना उद्योग महासंघका कन्हैयालाल कसौधन, तिलोत्तमा व्यापार संगठनका दिनानाथ खनाललगायले प्लाष्टिक झोलामुक्त अभियानसँगै त्यसको विकल्पका बारेमा पनि नगरबासीलाई जानकारी दिइनुपर्ने उल्लेख गरे ।

उनीहरुले प्लाष्टिक झोलामुक्त अभियानलाई आफूहरुले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यसैबीच तिलोत्तमा नगरपालिकाले प्लास्टिक झोलाको विकल्पमा कपडाको झोला प्रयोग गर्न, घरबाट बाहिर निस्किँदा सामान बोक्नका लागि वैकल्पिक झोला बोकेर लैजान, खुला रूपमा बेचिने चिनी, तरकारीलगायतका सामान खरिदबिक्री गर्दा कपडा वा अल्लोका झोला तथा बट्टा प्रयोग गर्न उपभोक्ता र व्यापारीलाई आग्रह गरेको छ ।

एक अध्ययन अनुसार नेपालमा एक दिनमा करिब ४५ लाख मानिसले सामान बोक्नका लागि प्लास्टिकका झोला प्रयोग गर्ने गरेका छन् । प्लास्टिकका झोलाले वातावरणीय प्रदूषण बढाएकाले यसको प्रयोगलाई हटाउने सरकारको नीति छ । बढी टिकाउ, वातावरणमैत्री कपडाको झोला वा वैकल्पिक साधनको प्रयोग बढाउने संघीय सरकारको नीतिलाई व्यवहारमा कार्यान्वयनमा ल्याउन तिलोत्तमा नगरपालिकाले अभियान थालनी गर्न लागेको हो ।