कांग्रेसद्वारा रुपन्देही बन्दको घोषणा: ५ दर्जन बढी संस्था पनि आन्दोलनमा
बुटवल– राजधानि रुपन्देहीबाट दाङको भालुवाङ सार्न थालिएको भन्दै कांग्रेसले आज रुपन्देही बन्दको आह्वान गरेको छ।
प्रदेश सरकारको निर्णयबिरुद्ध आज जिल्ला बन्दको आह्वान गरेको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बताएका छन । प्रदेशको राजधानि रुपन्देहीबाट अन्यत्र लैजान खोज्नु गलत भएको कांग्रेसको ठहर छ ।
बुटवलमा राजधानी बनाउनको लागि पूर्वाधारमा ठुलो लगानी भएको भन्दै कांग्रेस विरोधमा उत्रिएको छ । एकातिर पूर्वाधारमा अरबौं खर्चिने र राजधानी अर्कातिर लैजाने प्रस्ताव लैजानु सरकारको कदम ठिक नभएको भन्दै रुपन्देहीमा विभिन्न संघ संस्थाहरूले आन्दोलन घोषणा समेत गरेका छन् ।
प्रदेश ५ सरकारले प्रदेश राजधानी दाङको भालुबाङ क्षेत्रमा सार्ने प्रस्ताव प्रदेश संसदमा दर्ता गरिसकेको छ।
सत्तारुढ दल नेकपा संसदीय दलले भालुवाङमा प्रदेश राजधानीका लागि मतदान गर्न सांसदलाई ह्वीप जारी गरिसकेको छ।
नेकपा संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बुटवलमा सम्पन्न बैठकले प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ बनाउने पक्षमा संसदमा मतदान गर्ने निर्णय गराएका हुन्।
शुक्रबार प्रदेश सरकारले दांग जिल्लाको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले चर्चको राप्ती नदी किनारको मैदानी भाग र राप्ती उपत्यका (देउखुरी) प्रदेशको राजधानी तोक्ने प्रस्ताव संसदमा दर्ता गरेको छ।
नेकपा संसदीय दलको निर्णयसंगै प्रदेशको राजधानी र नामाकरण अब औपचारिक रुपमा टुंगाउन मात्रै बाँकी छ।
यद्यपि साविक लुम्बिनीको रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासी पश्चिमका सांसदहरुले भने रुपन्देही राजधानी बनाउनुपर्ने माग गरेका छन्।
प्रदेश ५ मा नेकपाका ६१, कांग्रेसका १९, मधेसकेन्द्रित दलका ६, राजमोका १ सांसद गरि कुल ८७ सांसद छन्। यसअघि नेकपा भित्रकै विवादको कारण प्रदेश राजधानी कहा राख्ने भन्ने विषय अन्यौलमा थियो।
यसैबीच रुपन्देहीका ६० भन्दा बढी संघसंस्थाले आज बुटवलमा शान्तिपूर्ण आन्दोलन गर्ने भएका छन्। संघसंस्था तथा कांग्रेसको बन्द र आन्दोलनको कारण आज स्थानीय प्रशासनले बुटवलमा निषेधाज्ञा जारि गरेको छ।
बुटवलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। विगतमा प्रदेश सरकारको स्थापनामा आफ्नो कार्यालयसमेत दिएर आफूहरु भाडाको घरमा बसेका विभिन्न संघसंस्थाहरु यतिबेला त्यहि सरकारको विरोधमा उत्रिएका छन्।
रुपन्देही प्रशासनले असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।