ट्रम्प विरुद्ध मुद्दा दर्ता - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

ट्रम्प विरुद्ध मुद्दा दर्ता



अमेरिकाको केबल न्यूज नेटवर्क (सिएनएन) ले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ । राष्ट्रपति कार्यालयले आफ्ना वरिष्ठ पत्रकारको परिचय पत्र ह्वाइटहाउस प्रवेशका लागि अमान्य घोषित गरेपछि सिएनएनले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको हो ।

जिम एकोस्टा ह्वाइट हाउसका लागि सिएनएनका प्रमुख संवाददाता थिए, तर उनको प्रेस हार्ड पास राष्ट्रपति कार्यालयले फिर्ता लिएको छ । गएको हप्ता ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनको क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बहस भएपछि उनको पास फिर्ता लिएको हो ।

राष्ट्रपति कार्यालयले एकोस्टाको संवैधानिक अधिकारको उल्लंघन गरेको भन्दै सिएनएनले मुद्दा दायर गरेको हो । स्थानीय समय अनुसार मंगलबार वासिङ्गटनको अदालतमा दायर गरिएको मुद्दामा राष्ट्रपति ट्रम्प र उनका सहयोगीलाई प्रतिवादी बनाइएको छ ।

राष्ट्रपति ट्रम्पसँग चिफ अफ स्टाफ जोन केली र ह्वाइट हाउसकी प्रवक्ता सारा स्याण्डर्स पनि रहेका छन् । साराले एकोस्टाको व्यवहार अस्वीकार्य रहेको भन्दै पास फिर्ता लिइएको बताएकी थिइन् ।

पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा प्रश्न गरेका पत्रकार जिम एकोस्टाको परिचय पत्र अर्को सूचना नआएसम्मका लागि ह्वाइट आउसमा प्रवेश गर्न नपाउने गरी अयोग्य ठहर गरेको हो । एक महिलामाथि एकोस्टाको हात पुगेको आरोप ह्वाइट हाउसले लगाएको छ ।

सिएनएनका लागि प्रमुख ह्वाइट हाउस सम्वाददाता एकोस्टालाई गएको बुधबार ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले ‘अशिष्ट र डरलाग्दो व्यक्ति’ भनेका थिए ।

राष्ट्रपति ट्रम्पसँग प्रश्न गरिरहेका बेला ह्वाइट हाउसमा कार्यरत एक महिला कर्मचारीले उनको माइक्रोफोन खोस्न खोजेकी थिइन् । तर एकोस्टाले माइक्रोफोन दिन मानेनन् र राष्ट्रपति ट्रम्पलाई अर्को प्रश्न गर्ने प्रयास गरे । त्यसको भिडियो तत्काल अनलाइन मार्फत सार्वजनिक भएको थियो ।

ह्याइट हाउसको निर्णयको चौतर्फी आलोचना भएको छ । एकोस्टाले आफूले महिला कर्मचारीमाथि हात लगाएको आरोप झुट रहेको बताएका छन् ।