रुकुममा फेरि तनाव : अस्पताल तोडफोड, प्रहरीले गोलि चलायो - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

रुकुममा फेरि तनाव : अस्पताल तोडफोड, प्रहरीले गोलि चलायो



जाजरकोट- पश्चिम रुकुम काण्डमा मृतकको पोस्टमार्टम रिपोर्टमा जालझेल भएको भन्दै सोती काण्डका मृतकका आफन्तले जिल्ला अस्पतालमा तोडफोड गरेका छन् । उनीहरूले शवगृहमा आगजनी समेत गरेका छन् ।

स्थिति तनावपुर्ण भएपछि प्रहरीले ५ राउन्ड हवाई फायर गरेको थियो । पोस्टमार्टम रिपोर्टमा जालझेल भएको भन्दै सोती घटनाका मृतकका आफन्त जाजरकोट जिल्ला अस्पतालमा आन्दोलन गरेका थिए ।

मृतकका आफन्तहरू सोमबार दिउँसो ४:३० बजेतिर अस्पताल पुगेर गेट तोडफोड गर्नुका साथै शवगृहमा आगो लगाएका थिए । सम्भावित जोखिमलाई ख्याल गर्दै स्थानीय प्रशासनले आइतबार साँझबाटै अस्पतालमा सुरक्षाकर्मी खटाएको थियो ।

डाक्टरहरूले दबाबमा परेर पोस्टमार्टम रिपोर्ट कमजोर बनाएर पठाएको आरोप मृतकका आफन्तले लगाएका छन् । पीडितमाथि चारैतिरबाट पीडा थप्ने काम भएको भन्दै एकाएक अस्पतालमा आक्रमण गरेका थिए ।

प्रहरीसँगको झडपमा पदमबहादुरसहित उनकी श्रीमती राधिका, सञ्जीव विककी आमा लक्ष्मी र अन्य ४ जना तथा प्रहरी निरीक्षक महेश आचार्य र एक जवान घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पतालमै उपचार गरिएको छ ।

प्राप्त पोस्टमार्टम रिपोर्टमा भने नवराज विकको टाउकोमा चोट लागेको उल्लेख गरिएको छ । हातमा २ सेन्टिमिटरदेखि २८ सेन्टिमिटरसम्म लामो धसारिएको घाउ रहेको उल्लेख छ । रिपोर्ट हेरेपछि एक चिकित्सकले धारिलो हतियारले हानेको भन्नेचाहिँ उल्लेख नगरिएको बताए ।

‘टाउको र हातमा घाउ भएको त देखिन्छ, तर त्यो घाउलाई अदालतले कसरी व्याख्या गर्छ भन्नेमा भर पर्छ,’ ती चिकित्सकले भने, ‘एक जनाको रिपोर्टमा भने डुबेर मरेको भन्ने लेखिएको छ ।’ मृतकको श्वासनलीमा बालुवा देखिएको र पेट (आमाशय) मा पानी भने नदेखिएको उनले बताए ।