रुकुम काण्डमा मृतकका परिवारलाई १० लाखका दरले राहत
काठमाडौँ- पश्चिम रुकुममा गाउँलेको आक्रमणबाट मारिएका ६ जनाका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराइने भएको छ । गृह मन्त्रालयले मारिएका ६ जनाका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउन मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ ।
राहतका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन अर्थ मन्त्रालयमा पनि पत्र पठाइएको छ ।
गृहले घाइतेको निशुल्क उपचारको व्यवस्था गर्ने पनि प्रस्ताव गरेको छ । गृहको प्रस्ताव मन्त्रिपरिषद्बाट अनुमोदन भएपछि मृतकका परिवारलाई राहत उपलब्ध गराइने गृह मन्त्रालले जनाएको छ ।
गृह मन्त्रालयका सहप्रवक्ताले मृतकका परिवारलाई राहत र घाइतेलाई उपचार खर्च उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन् । रुकुम पश्चिम जिल्ला सुरक्षा समिति बैठकले गरेको सिफारिसका आधारमा राहत तथा उपचार खर्चको व्यवस्था गर्न प्रक्रिया थालिएको उनले बताए ।
जेठ १० गते राति चौरजहारी नगरपालिका–८, रुकुम पश्चिम (सोती)मा गाउँलेको कुटाइबाट भेरी नगरपालिका–४ जाजरकोटका नवराज विक, गोविन्द शाही, लोकेन्द्र सुनार, गणेश बूढा, सन्दीप बिक र तथा चौरजहारीका टिकाराम सुनार गाउँलेको आक्रमणबाट मारिएका थिए ।
मारिएका सबैको भेरी नदीमा शव भेटिएको थियो । घटनामा संलग्न भएको अभियोगमा ३४ जनाविरुद्ध आइतबारमात्रै रुकुम जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ । आरोपितमध्ये ५ जना अझै फरार छन् ।
कुटाइबाट भेरी नगरपालिका–४ जाजरकोटका लालबहादुर खड्का, भोला बिटालु (बिसी), बिभाग पुन, सरोज भडेल, मदन शाही, इन्द्रजंग शाह, गोविन्द सुनार, आशिष बिक, सुदीप खड्का, डिल्ली बिक, महेश कार्की र सुनिल सुनार घाइते भएका थिए ।
घटनालगत्तै गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । सोही समितिको सिफारिसका आधारमा मृतकका परिवारलाई राहत र घाइतेलाई क्षतिपूर्ती उपलब्ध गराउन सिफारिस गरिएको हो ।
मृतक नवराज विक ‘तथाकथित उपल्लो जात’की युवतीलाई बिहे गरेर लैजाने गरी आफ्ना साथी लिएर जाजरकोटबाट रुकुम पुगेका थिए । तर, सोही साँझ गाउ नै उल्टिएर नवराजसहित ६ जनालाई लखेटी लखेटी मारेको अदालतमा प्रस्तुत गरिएको अभियोगपत्रमा उल्लेख छ ।