अनेक हुन्छ रुकुममा : जनताले राहत माग्दा खुकुरी हान्ने यस्ता जनप्रतिनिधि
रुकुम- पछिल्लो समय दर्दनाक जातीय हिंसा भएको रुकुम जिल्लामा अर्को काण्ड घटेको छ । जहाँ जनताले जिताएकै जनप्रतिनिधिले राहत माग्ने जनतालाई खुकुरी हानेक छन् ।
जनतालाई समस्या पर्दा नागरिकले हारगुहार माग्ने भनेको आफूले जिताएका जनप्रतिनिधि नै हुन् । तर जनप्रतिनिधि नै आफैमाथि जाइलागेपछी कसको के नै लाग्ने रहेछ र ।
आफ्ना नागरिकको समस्यामा सकेको सहयोग गर्नु निर्वाचित जनप्रतिनिधिको दायित्व र कर्तव्य पनि हो । तर, रुकुमका एक जनप्रतिनिधिले लकडाउनका कारण खानेकुरा नभएको भन्दै राहत माग्न आएका आफ्नै मतदातामाथि खुकुरी प्रहार गरेका छन् ।
रुन्टीगढी गाउँपालिका–९ का वडाध्यक्ष नेपबहादुर थापाले बुधबार साँझ त्यसै वडाका स्थानीय गुरुप्रसाद थापामाथि खुकुरी प्रहार गरेका हुन् ।
लकडाउनका कारण दैनिकी चलाउन कठिन भएको भन्दै मजदुर मानसिङ थापासहित त्यहाँ पुगेका आफूहरुले वडा कार्यालयबाट राहत पाउनुपर्ने माग गरेपछि वडाध्यक्षले शुरुमा मानसिङलाई मुक्का प्रहार गरेको र छुटाउन जाँदा आफूमाथि वडाध्यक्षले खुकुरी प्रहार गरेको घाइते गुरुप्रसाद थापाले जानकारी दिएका छन् ।
गुरुप्रसाद र मानसिङलाई बचाउन जाँदा छिमेकी ग्वाता थापा समेत घाइते भएका छन् ।
घुँडामा गहिरो चोट लागेका थापाको थापाको अहिले होलेरीस्थित एक निजी क्लिनिकमा उपचार भइरहेको छ । वडाध्यक्ष थापाले मोबाइल फोन समेत खोसेर १५ हजार रुपैयाँमा जबरजस्ती मिलापत्र गर्न बाध्य बनाएको पीडितको भनाइ छ ।
मिलापत्र नगरी उपचार गर्न नजानू भनेका थिए’, पीडित थापाले भने, ‘तर गम्भीर चोट लागेकाले उपचार गर्न आएँ ।’ उपचारपछि पीडित थापाले इलाका प्रहरी कार्यालय होलेरीमा उजुरी गर्ने दिएको बताएका छन् ।
वडाध्यक्ष थापा तत्कालीन एमालेबाट निर्वाचित भएका हुन् । उनले यसअघि पनि पटक–पटक गलत क्रियाकलाप गर्दै आएको स्थानीय बताउँछन् ।