रुकुम घटना सरकारले घटाएको होइन, सरकारको आलोचना नगरौँ: प्रधानमन्त्री - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

रुकुम घटना सरकारले घटाएको होइन, सरकारको आलोचना नगरौँ: प्रधानमन्त्री



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले रुकुम पश्चिमको चौरजहारी घटना दुःखद भएको भन्दै यो सरकारले नघटाएको बताएका छन् । उनले यो घटनालाई लिएर सरकारको आलोचना गर्नुको अर्थ नभएको बताए।

‘यो दुःखद घटना हो। गलत क्रियाकलाप हो। जसरी भएपनि मानिसहरू मारिए, यसमा सरकारमाथि आलोचना गर्नुपर्दैन’ प्रधानमन्त्री ओलीले भने‚ ‘सरकारले घटाएको हो र? सरकारले अपराधी बचाउन खोजेको छ र? सरकारले राम्रो भयो, राम्रो भयो भनेको छ र? सरकारले यस्तो घटना घटनामाथि कारबाही हुन्छ भनेको छ।’

प्रधानमन्त्री ओलीले सरकारले पनि गम्भीरतापुर्वक लिएको र संसदले पनि गम्भीरताका साथ संसदले छानबिन बनाएको बताए। सरकारले गर्नुपर्ने काम गरिरहेको दावी प्रधानमन्त्रीले गरे। धेरै सुरक्षाकर्मी राख्नुपर्थ्यो होला तर त्यहाँमात्रै राख्ने कुरा नभएकाले असम्भव भएको प्रधानमन्त्रीले बताए। उक्त क्षेत्रमा गस्ती गर्ने कुरा भएको तर प्रहरी नभएको मौका पारेर अपराध गरेको उनले बताए।

सरकार अत्यन्तै गम्भीरतापुर्वक कडा कारबाही गर्ने प्रक्रिया अघि बढाएको उनले बताए। सरकारले लापरवाही नगर्ने भन्दै उनले रुकुम घटना अमानवीय भएको बताए। ‘कोही मानिसहरुमा अमानवीय र दानवीय प्रवृत्तिका विकास भएको छ’ उनले भने‚ ‘कसैले अपराध गरेमा कडाभन्दा कडा कारवाही गर्नुपर्छ। सरकार संवेदनशील छ। शान्ति सुरक्षा र जनताको सुरक्षाको चिन्तित छ।’

रोग वा भोक दुवैबाट जनतालाई सुरक्षा दिने काम सरकारले गर्ने उनले बताए। ‘यो देशभक्त सरकार हो। समाजवाद उन्मुख सरकार हो’ प्रधानमन्त्रीले भने‚ ‘सरकारले कसैलाई काखा र कसैलाई पाखा गर्दैन।’ यो घटना अदालतमा मुद्दा पुगेकाले अब न्याय र अन्याय अदालतले छुट्टाउने उनले बताए।