जनार्दन शर्माको गृहजिल्लामा कांग्रेस र एमालेको गठबन्धन - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

जनार्दन शर्माको गृहजिल्लामा कांग्रेस र एमालेको गठबन्धन



केन्द्रबाट गठबन्धनमा रहेका दलबाहेक अन्य दलसँग चुनावी तालमेल गर्न नपाउने निर्णय गरेपनि हालका अर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्माको क्षेत्रमा कांग्रेस र एमालेबीच चुनावी तालमेल भएको छ । स्थानीय तह निर्वाचनमा केन्द्रको निर्णय लत्याउँदै रुकुम पश्चिममा कांग्रेस र एमालबीच समीकरण भएको हो।

यसअघि माओवादी केन्द्रको प्रभाव रहेका रुकुम पश्चिमका स्थानीय तहमा लालकिल्ला भत्काउने भन्दै दुई दलको तालमेल भएको हो। सत्ता गठबन्धनका दलहरूको बीचमा रहेको बेमेलका कारण कांग्रेसले एमालेसँग सहकार्य गर्ने निर्णय गरेको हो।

मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धन निर्माण भई उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्। गठबन्धन भएका सबै पालिकामा कांग्रेसले प्रमुख\अध्यक्ष तथा एमालेले उपप्रमुख÷उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

मुसीकोट नगरपालिकाका प्रमुखमा नेपाली कांग्रेसका महेन्द्र केसी र उपप्रमुखमा एमालेका थलबहादुर ओलीले उम्मेदवारी दिएका छन्। एमालेबाट प्रमुखमा उम्मेदवारी दिएकी अञ्जना चन्द गौतम र कांग्रेसबाट उपप्रमुखमा उम्मेदवारी दिएकी निर्मला गिरीपछि हटेका छन्।

चौरजहारी नगपालिकाको प्रमुखमा कांग्रेसका प्रेमबहादुर ओली, उपप्रमुखमा एमालेका टंकप्रसाद ओली कायम छन् । चौरजहारीको प्रमुखमा एमालेबाट डण्डी कार्की र उपप्रमुखमा कांग्रेसकी दिपा डाँगी खड्काले उम्मेदवारी फिर्ता लिए। आठबीसकोटको कांग्रेसका प्रमुखमा धिरेन्द्रकुमार बटालाको उम्मेदवारी कायमै छ भने उपप्रमुखमा एमालेका दिनेश चन्द छन्।

कांग्रेसको तर्फबाट उपप्रमुखमा उम्मेदवारी दिएकी कमला थापाले उम्मेदवारी फिर्ता लिएकी छन्। तर एमालेको तर्फबाट प्रमुखमा उम्मेदवारी दिएकी कृष्णकुमारी मल्लले भने उम्मेदवारी फिर्ता लिन मानिन्। सानीभेरी गाउँपालिकामा कांग्रेसबाट गोरखप्रसाद चन्दले अध्यक्ष र एमालेबाट प्रकाश खड्काले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

यहाँ उम्मेदवारी पनि यी दुई जनाको मात्रै परेको थियो। कांग्रेस र एमालेले वडा तहसम्म गठबन्धन गरेका छन । बाँफिकोट र त्रिवेणी गाउँपालिकामा मात्रै कांग्रेस एमालेको गठबन्धन भएन। तर यी दुई पालिकाका केही वडामा भने कांग्रेस एमालेको गठबन्धन भएको छ।