राजस्थानले कीर्तिमान बनाएको त्यो अस्वाभाविक खेल - Himal Post Himal Post
  • १८ माघ २०८२, शनिबार
  •      Sat Jan 31 2026
Logo

राजस्थानले कीर्तिमान बनाएको त्यो अस्वाभाविक खेल



एजेन्सी- राजस्थान रोयल्सले आइतबार रोमाञ्चक खेलमा किंग्स इलेभेन पन्जाबलाई ४ विकेटले पराजित गरी इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित हात पारेको छ। दिल्ली क्यापिटल्सजस्तै राजस्थानले पनि शतप्रतिशत विजय निकालेको हो।

राजस्थानले त्यसनिम्ति आईपीएल इतिहासकै सबैभन्दा ठूलो विजय लक्ष्य पछ्याएको थियो। शारजहाँ क्रिकेट मैदान त्यसको साक्षी बन्यो। मायंक अग्रवालले आईपीएलमा आफ्नो पहिलो शतक बनाएपछि पन्जाबले २ विकेट गुमाई २ सय २३ रन जोड्यो। कप्तान स्टिभ स्मिथ, सन्जु सामसन र राहुल टेवाटियाले अर्धशतक बनाएपछि राजस्थानले तीन बलअगाडि नै लक्ष्य पार गरेको हो।

पहिलो १९ बलमा ९ रनमात्र बनाउन सकेका टेवाटियाले त्यसपछि आफूले सामना गरेको १२ बलमा ४४ रन थपेका थिए, त्यसमा ७ छक्का समावेश थियो। उनले १८ औं ओभरमा सेल्डन कोट्रेललाई ५ छक्का प्रहार गरेपछि राजस्थान खेलमा फर्किएको थियो। अर्को ओभरमा जोफ्रा आर्चरले मोहम्मद सामीको बलमा लगातार दुई छक्का र टेवाटियाले १ छक्का प्रहार गरेपछि राजस्थानले अस्वाभाविक प्रदर्शन दिँदै जित निकाल्न सक्यो। टेवाटियाले ३१ बलमा ५३ र आर्चरले ३ बलमा अविजित १३ रन बनाए।

यसअघि जोस बटलर ४ रनमै आउट भए पनि स्मिथले ५० र सामसनले ८५ रन बनाउँदै राजस्थानको आस जीवितै बनाएका थिए । स्मिथले २७ बल खेली ७ चौका र २ छक्का तथा सामसनले लगातार अर्धशतक बनाउनेक्रममा ४२ बलको इनिङ्समा ४ चौका र ७ छक्का प्रहार गरे। टेवाटिया विजयभन्दा २ रनअगाडि आउट भएका हुन्।

पन्जाबका मायंकले कप्तान केएल राहुलसँग पहिलो विकेटमा १७ ओभरभित्र १ सय ८३ रनको साझेदारी गरेका थिए। मायंकलाई टम कुरानले आउट गरी यो साझेदारी तोडेका थिए। उनले ५० बल खेली १० चौका र ७ छक्का प्रहार गरे। राहुलले ६९ रन बनाउनेक्रममा ५४ बल खेली ७ चौका र १ छक्का प्रहार गरे। ग्लेन म्याक्सवेल ९ बलमा १३ र निकोलस पूरन ८ बलमा १ चौका र ३ छक्का प्रहार गरी २५ रनमा अविजित रहे।

अघिल्लो खेलमा केएल राहुलले अविजित १ सय ३२ रन बनाउँदा पन्जाबले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ९७ रनले पराजित गरेको थियो। राजस्थानले आफ्नो पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गर्दा २ सय १६ रन खडा गरेको थियो।

सोमबार मुम्बई इन्डियन्स र बेंग्लोरबीच दुबईमा खेल हुनेछ।