सीमामा अलपत्र नेपालीको तत्काल उद्दार गर्न राप्रपाको माग - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

सीमामा अलपत्र नेपालीको तत्काल उद्दार गर्न राप्रपाको माग



काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपाल-भारत सीमा क्षेत्र आइपुगेका र अलपत्र परेका नेपालीहरूलाई देशभित्र प्रवेश गराई उचित ब्यबस्थापन गर्नुपर्ने बताएको छ ।

अध्यक्षहरू पशुपती शमसेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त रूपमा विज्ञप्ति निकालेर सरकारलाई यस्तो आग्रह गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘महामारीको बेला परिवारका साथ रहने चाहना बोकेर कष्टकर यात्रा सहँदै नेपाल–भारत सिमानासम्म आइपुगेका नेपाली नागरिकलाई स्वास्थ्य परीक्षण गरि देशभित्र ल्याउने र क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न राप्रपा सरकारसँग माग गर्दछ।’

राप्रपाले १२ बुँदा समेटेर सरकारको ध्यानाकर्षण गर्दै आइतबार विज्ञप्ति निकालेको हो। कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीमाथि ज्यादती भएको भन्दै राप्रपाले सरकार अभिभावकीय भूमिकामा रहनुपर्ने उल्लेख गरेको छ।

‘महामारीको अग्रिम पक्तिमा रहेर काम गर्ने चिकित्सक र कतिपय स्थानमा सर्वसाधारणमाथि ज्यादती भएको देखिएको छ। यो बेला बल प्रयोग होइन सरकारले सहि सूचनाको प्रवाह र अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ,’ राप्रपाले भनेको छ।

महामारी फैलिएको महिनौं भैसक्दा पनि सरकारले स्वास्थ्य सामाग्री र व्यक्तिगत सुरक्षा साधन अझै पर्याप्त मात्रामा आपूर्ति गर्न नसकेको राप्रपाको भनाइ छ। ‘संकटको घडीमा अनियमितता, भ्रष्टाचार र कालोबजारी गर्ने जोसुकै भएपनि अबिलम्ब कारबाही गरिनु पर्दछ र कारवाही गरेको स्पष्ट देखिनुपर्छ’ राप्रपाले भनेको छ।

साथै कोरोनाको प्रकोप अन्त्य नभएसम्म सामान ढुवानीको निमित्तबाहेक भारत र चीनसँगको सीमा बन्द गर्न, नियमन गर्न तथा सम्पूर्ण व्यावसायिक अन्तरराष्ट्रिय उडान बन्द गर्न राप्रपाको सुझाव छ। मजदुरलाई राहत दिन र घरसम्म पुर्‍याउन पनि राप्रपाले माग गरेको छ।