फुट्ने भयो राप्रपा: कमला थापाले गरे यस्तो संकेत
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले राप्रापा फेरि फुट्न लागेको संकेत गरेका छन् । टुटफुट र विभाजनबाट गुज्रिँदै दुई वर्षअघि एकीकृत भएको राप्रपा मा फेरी खटपट शुरु भएको हो ।
आफू बरू एक्लै हिड्ने तर नकारात्माक सोच भएकालाई छोड्ने आसय ब्यक्त गर्दै थापाले फुटको संकेत गरेका हुन् । गीताको पुस्तक छोएर अब पार्टी नफुटाउने भन्दै कसम खाएका अध्यक्ष थापाले राप्रपामा खटपट भएको स्वीकार गरेका छन् ।
थापाले आज ट्वीट गर्दै लोभीपापी र अवसरवादीहरुलाई बोकेर हिँड्दा गन्तव्यमा नपुगिने बताउँदै बरु एक्लै हिँड्ने चेतावनी दिएका छन् । थापाको उक्त अभिव्यक्तिले राप्रपामा फेरी विभाजन आउनसक्ने संकेत गरेको छ ।थापाले विगतमा लोभीपापी र अवसरवादीहरुलाई बोकेर गल्ति गरेको भन्दै लेखेका छन्, ‘लोभीपापी र अवसरवादीरूलाई बोकेर हिँड्दा सन्तोष नहुने र गन्तव्यमा पनि नपुगिने रहेछ । विगतमा धेरै गल्ती गरियो । अब मसँग गल्ती गरेर सच्चाउने समय छैन ।’
आफ्नो पछाडि कति मान्छे छन् भनेर नहेर्ने बरु एक्लै हिँड्ने थापाको भनाई छ । ‘मेरो पछि कति छन् भनेर हेर्दिंन । बरु एक्लै हिँड्छु, नकारात्मक सोच भएकाहरुसँग टाढै बस्छु, नो कम्प्रोमाइज विथ ‘भाइरस’, थापाले भनेका छन् ।
राष्ट्रिय राजनीतिमा बढेको ध्रुवीकरणमा राप्रपासमेत प्रभावित भएको बताइन थालेको छ । प्रधानमन्त्री केपी ओलीसँग सत्ता सहकार्य गर्ने थापाको चाहनामा अर्का दुई जना अध्यक्ष पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी बाधक बनेपछि विवाद चर्किएको बताइन्छ ।
थापाले केही दिनअघि राणा र लोहनीलाई अल्छी घोडाको संज्ञा दिँदै सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका थिए ।