राप्रपा महाधिवेशनमा विवाद - Himal Post Himal Post
  • २२ पुष २०८१, सोमबार
  •      Mon Jan 6 2025
Logo

राप्रपा महाधिवेशनमा विवाद



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेनशमा भाग लिने प्रतिनिधिको संख्यामा दुई दिनदेखिको विवादले निचोड नपाउँदा नयाँ नेतृत्व चयनमा सकस भएको छ । पार्टी अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देन समूहबीच महाधिवेशन प्रतिनिधिको विषयमा विवाद भएको हो ।

पार्टीको बुधबारदेखि सुरु भएको एकता महाधिवेशनका दौरान विवाद भएको हो । विवादका कारण निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढाउन पाएको छैन ।

अध्यक्ष कमल थापाले एकलौटी रूपमा जिल्लाबाट आएको मतदाता नामावाली हेरफेर गरेको आरोप लिङ्देन पक्षले लगाएको छ । भक्तपुर, सर्लाही, काठमाडौं, पर्वतलगायत जिल्लाबाट आएको सूचीका विषयमा विवाद भएको हो ।

तर, थापा पक्षधर भने डा. प्रकाशचन्द्र लोहनी र प्रदेश नम्बर–२ का नेता रामचन्द्र रायका कारण प्रतिनिधि सहभागितामा लफडा भएको तर्क गर्छन् । “जहाँ यी दुईले हस्तक्षेप गरे, त्यहीँ विवाद भएको छ । मेरो जिल्लामा त झन् स्थिति डामाडोल बनाइदिएका छन्,” थापानिकट एक नेताले बताए ।

नेता राजाराम श्रेष्ठ भने विवाद समाधानोन्मुख भएकाले आजै निर्वाचन प्रक्रिया सुरु हुन सक्ने बताउँछन् ।

तल्ला तहबाटै महाधिवेशन प्रतिनिधि चयन गरेर ल्याइएको छ । चार हजार ५०० को हाराहारीमा विभिन्न समुदायबाट महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने विधानको व्यवस्था छ । ३३० प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट प्रतिनिधि चुन्दा केही क्षेत्र खाली छोडिएको थियो । त्यो खाली क्षेत्रमा अध्यक्ष थापाले एकलौटी आफूपक्षीय महाधिवेशन प्रतिनिध चुनेको लिङ्देन पक्षको आरोप छ ।

खाली छोडिएको महाधिवेशन प्रतिनिधिहरूमा महिला, दलित, अल्पसंख्यकलगायत क्लष्टरबाट रहेका छन् । जसमा थापाले आफूखुसी नाम हालेर विवाद सिर्जना गरेको लिङ्देनपक्षीय एक नेताको दाबी छ ।

सोही विवादका कारण पार्टीको निर्वाचन समितिले मतदाता नामावली तयार गर्न सकेको छैन । मतदाना नामावली नै तयार नहुँदा नयाँ नेतृत्व चयनमा ढिलाइ भएको हो ।

पार्टीको बन्दसत्र बुधबारदेखि सुरु भए पनि हालसम्म नयाँ नेतृत्व चयन हुनसकेको छैन । बन्दसत्रमा भन्दा पनि नेताहरू नेतृत्वको बाँडफाँड र आफ्नो समूहलाई भोट माग्न व्यस्त छन् । शीर्ष नेतृत्व भने महाधिवेशन आफ्नो पक्षमा पार्न लागिपरेका छन् ।

निर्वाचन समितिले अहिले जिल्ला–जिल्लाबाट आएका र विवाद भएका महाधिवेशन प्रतिनिधिहरूको नामावली सच्याउने काम गरिरहेको छ । निर्वाचन समिति संयोजक हरिबहादुर बस्नेतका अनुसार समितिले नामावली अध्ययन गरिरहेको छ ।

“अहिले हाम्रो मतदाता नामावली सच्याउने क्रम जारी छ । जिल्लाबाट आएको लिस्ट हेर्दै छौँ,” थापापक्षीय नेता भुवन पाठकले भने, “अलि ढिला भयो । केही घण्टामा सकिन्छ भन्ने छ । आज बेलुकासम्म मतदाता नामावली सार्वजनिक हुन्छ जस्तो छ ।”

०७६ फागुनमा दुई पार्टी राप्रपा र राप्रपा (संयुक्त) मिलेर राप्रपा बनेको हो । पार्टी एकीकरण भएको दुई वर्षपछि एकता महाधिवेशन गरिएको हो महाधिवेशनबाट नेतृत्व हत्याउन वर्तमान अध्यक्ष कमल थापा र पार्टीका एक मात्र सांसद तथा पूर्वमहामन्त्री राजेन्द्र लिङ्देन चुनावी मैदानमा होमिएका छन् ।

थापाले सहमतिबाट नेतृत्व चयन नहुने देखेपछि आफ्नो प्यानल बनाइसकेका छन् । अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको साथ पाएका लिङ्देनले पनि महामन्त्रीमा डा. धवलशमशेर राणा, उपाध्यक्षमा दिलविकास राजभण्डारीलगायत प्यानल बनाएका छन् ।

विवाद टुंग्याउन निर्वाचन समितिले पाँच सदस्यीय समिति गठन थियो । सोही समितिले अहिले प्रतिनिधिहरूको लिस्ट सच्याउने काम गरिरहेको छ ।संयोजक बस्नेतका अनुसार आज नामावली प्रकाशन भए भोलिदेखि मतदानको प्रक्रिया सुरु हुनेछ ।