हिन्दुराष्ट्र र राजसंस्था ब्युँताउन राप्रपा निर्णायक आन्दोलनको तयारीमा
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । पार्टीको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले पुस १२ देखि आन्दोनमा जाने निर्णय गरेको हो ।
राप्रपा केन्द्रीय सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधानलगायतका विषयमा सरकारको असफलता एवम् उदासिनताको विरुद्धमा तथा सनातन हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको निमित्त पहिलो चरणमा देहायको देशव्यापी जनप्रदर्शन र संघर्ष गर्नेछ।’
पुस १२ गते ७७ जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार समक्ष ज्ञापनपत्र बुझाउने पुस १२ देखि २१ गतेसम्म जिल्ला सदरमुकाम र ठूला शहरहरुमा मोटरसाईकल र्याली गर्ने, पुस १५ देखि २५ भित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने र पुसको चौथो हप्तादेखि दोस्रो चरणका कार्यक्रम सञ्चालन गर्ने राप्रपाले जनाएको छ।
पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको पार्टीको बैठकले मुलुकको समसामयीक राजनीतिक विषयहरुमासमेत छलफल भएको थियो। बैठकमा अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी समेतको उपस्थिति रहेको थियो ।
बैठकले सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचन सम्बन्धी विनियमावली २०७७, निर्वाचन निर्देशिका तथा निर्वाचन कार्यतालिका संशोधनसहित पारित गरेको छ ।
त्यसैगरी पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक पुस ६ र ७ गते काठमाडौँमा बस्ने निर्णयसमेत बैठकले गरेको छ।