रोनाल्डो मेस्सीलाई पछी पर्दै मोडरिचले जिते फिफा वेस्ट प्लेयर अवार्ड
एजेन्सी । क्रोएसियालाई पहिलो पटक विश्वकपको फाइनलसम्म पुर्याउन कप्तानी गरेका मिडफिल्डर लुका मोडरिचले सोमबार फिफा वेस्ट प्लेयर अवार्ड जितेका छन् । रियल मड्रिडका मोडरिचले क्रिष्टियानो रोनाल्डो र लिभरपुलका मोहम्मद सलाहलाई पछि पार्दै अवार्ड जितेका हुन् । यससँगै मोडरिचले एक दशकसम्म क्रिष्टियानो रोनाल्डो र लियोनल मेसीको दबदबालाई तोडेका छन् ।
क्रोएसियालाई विश्वकपको फाइनलसम्म डोहर्याउनु अघि ३३ वर्षे मोडरिचले रियललाई लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए । त्यसका साथै उनले रियलबाट फिफा क्लब विश्वकपको उपाधि पनि उचालेका थिए । विश्वकपमा उत्कृष्ट खेलाडी घोषित मोडरिचले गोल्डेन बल जितेका थिए ।
“यो अद्भुत ट्रफीका लागि यहाँ उभिन पाउँदा सम्मानित महशुस गरेको छु । सर्वप्रथम रोनाल्डो र सलाहलाई बधाई छ । अर्को पटक पनि उनीहरु यो ट्रफीका दावेदार हुनेमा म विश्वस्त छु,” अवार्ड जितेपछि मोडरिचले भने, “यो अवार्ड मैलेमात्र जितेको होइन । यसको श्रेय रियल मड्रिड र क्रोएसियाका साथीहरुलाई पनि जान्छ । मेरो परिवारको साथबिना म खेलाडी हुन सक्दिनथेँ र मेरो प्रशिक्षकबिना यो जित्न सम्भव पनि थिएन र आज म यहाँ हुँदिनथे । मलाई हौसला प्रदान गर्ने समर्थकहरुलाई धन्यवाद । मेरो प्रेरणा १९९८ को क्रोएसिया कप्तानलाई बिर्सन सक्दिनँ । उनीबाट म धेरै प्रभावित छु । उनले रसियामा हामी केही गर्न सक्छौं भनेर टिममा विश्वास बढाइदिए । यो अवार्डले कडा मिहिनेत र लगनशिल भयो भने सबै उत्कृष्ट हुनसक्छ भन्ने प्रमाणित गरिदिएको छ ।”
उत्कृष्ट महिला खेलाडीको अवार्ड ब्राजिलकी फरवार्ड मार्टाले जितेकी छिन् । ओर्लान्डो प्राइडबाट खेल्ने मार्टाले अप्रिलमा सम्पन्न कोपा अमेरिकामा ब्रजिलको नेतृत्व गरेकी थिइन् । उनले यसअघि सन् २००६, २००८, २००९ र २०१० मा पनि उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी थिइन् ।
लिभरपुलका मोहम्मद सलाहले वर्षको उत्कृष्ट गोल फिफा पुस्कास अवार्ड जितेका छन् । एभर्टनविरुद्ध गरेको गोलबाट उनले यो अवार्ड जितेका हुन् । उत्कृष्ट खेलाडीको उपाधि नजिते पनि सलाहले यो अन्तिम मनोनयन नभएको बताए । “अघिल्लो सिजन भन्दा नयाँ सिजनमा अझ राम्रो गर्ने प्रयास गर्छु त्यसैले यो मेरो अन्तिम मनोनयन नहुनेमा म विश्वस्त छु,” आफ्नो गोलबारे इजिप्टका फरवार्ड सलाहले भने,“एभर्टनविरुद्ध मेरो राम्रो गोल थियो । त्यो मेरो पहिलो डर्बी खेल थियो । तर अरु सबै गोल उत्तिकै महत्वपूर्ण छन् ।”
विश्वकपमा पहिलो चरणबाटै बाहिरिएको बारे सलाहले थपे, “विश्वकप खेल्नु मेरो जिवनको एक उत्कृष्ट क्षण थियो । इजिप्टियनका रुपमा त्यो एक सपना थियो । म विश्वस्त छु की फुटबल खेल्न मसँग अझै लामो समय छ ।”
फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पसले वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते । उनले रुसमा सम्पन्न फिफा विश्वकपमा फ्रान्सलाई उपाधि जिताएका थिए । डेसच्याम्पसले रियाल मड्रिडका जिनेदिन जिदान र क्रोएसियाका ज्लाट्को डालिचलाई पछि पारेका हुन् । अवार्ड जितेपछि डेसच्याम्पसले भने, “जिदान र डालिचलाई धन्यवाद । उनीहरु दुबै विजेता हुन् । खेलाडी विना हाम्रो कुनै अर्थ हुदैन । त्यसैले मेरो सम्पुर्ण टिमलाई धन्यवाद । उनीहरुको कडा मिहिनेतले आज मलाई यहाँ उभ्याएको छ ।”
बेल्जियम तथा रियाल मड्रिडका गोलकिपर थिवाउट कोर्तुवाले उत्कृष्ट गोलकिपरको अवार्ड हात पारे । उनले इंग्ल्यान्डका कास्पर स्चमेइकल र फ्रान्सका ह्युगो लोरिसलाई पछि पारेका हुन् । चेल्सीका पूर्व गोलकिपर कोर्तुवाले भने, “गौरवान्वित महशुस भइरहेको छ । चेल्सी र विश्वकपमा मैले राम्रो प्रदर्शन गरेको थिए । म जिवनकै उत्कृष्ट लयमा थिए । चेल्सी र राष्ट्रिय टिमका सहयात्रीहरुलाई धन्यवाद । उनीहरुले सधै मलाई राम्रो सुझाव दिए । मलाई साथ दिनुहुने सबैलाई धन्यवाद ।”
लियोनकी रेनाल्ड पेड्रोले फिफा उत्कृष्ट महिला प्रशिक्षकको अवार्ड जितिन् । उनले जापानका असाको ताकाकुरा र नेदरल्यान्ड्सकी सरिना विगम्यानलाई पछि पारेकी हुन् । अवार्ड हात परेपछि उनले भनिन्, “मेरो स्टाफलाई धन्यवाद दिन चाहन्छु । आज यहाँ म एक्लैले अवार्ड जिते पनि यसमा मेरो टिमको एकिकृत प्रयासको ठुलो भुमिका छ । जब मैले यो जागिर स्विकार गरे । शुरुमा म आफै फुटबलमा रमाउछु अनि महिला फुटबललाई प्रचार गर्छु भन्ने सोचेको थिए । मैले जे गरिरहेको छु त्यसमा साच्चिकै रमाइरहेको छु । मेरो लागि त्यो महत्वपूर्ण हो । फुटबल त्यस्तो खेल हो जुन हेरेर मान्छेहरुले आनन्द लिन्छन् र म त्यस्तै खेल पस्किन चाहन्छु ।”
पेरुका समर्थकले फिफा फ्यान अवार्ड जितेका छन् । ३६ वर्षपछि पेरुले विश्वकपमा स्थान बनाउँदा ४० हजार भन्दा धेरै समर्थक टोलीको हौसला बढाउन लामो दुरी पार गर्दै रुस पुगेका थिए । फिफा फेयर प्लेको अवार्ड लेननार्ट थेले जिते । लेउकायमिया विरामीलाई जर्मनीका फरवार्ड स्टेम सेल दिएका कारण उनले भिभिभि भेल्नो क्लबमा एक हप्ताको टेनिङ र पिएसभि आइन्डओभनविरुद्धको खेल गुमाउनु परेको थियो । फिफाले १९८७ पछि अनुशासित र राम्रो व्यवहार गर्ने खेलाडीलाई फिफा फेयर प्ले अवार्डबाट सम्मानित गर्न थालेको हो ।
फिफा फिफ्प्रो विश्व–११ मा रियाल मड्रिड चार खेलाडीले स्थान बनाएका छन् । उत्कृष्ट ११ को गोलकिपरमा म्यानचेस्टर युनाइटेडका डेभिड डी हिया रक्षकहरुमा पेरिस सेन्ट जर्मनका ड्यानी आल्भेस रियाल मड्रिडका राफेल भरान, सर्जियो रामोस, मार्सेलो मिडफिल्डरमा रियालकै लुका मोडरिच चेल्सीका एनगोलो कान्टे र इडिन हाजार्ड तथा फरवार्डमा पिएसजीका किलियान एमबाप्पे युभेन्टसका क्रिष्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेसी रहेका छन् । यद्यपी फिफा वर्ष खेलाडीको मनोनयनमा परेका मोहम्मद सालाह र उत्कृष्ट गोलकिपरको अवार्ड जितेका कोर्तुवा ड्रिम टिम भित्र पर्न सकेनन् । रोनाल्डो र मेसी कार्यक्रममा उपस्थित थिएनन् ।
उत्कृष्ट खेलाडीहरु
पुरुष खेलाडीः लुका मोडरिच
महिला खेलाडीः मार्टा
प्रशिक्षक पुरुष टिमः डिडियर डेसच्याम्पस
प्रशिक्षक महिला टिमः रेनाल्ड पेड्रो
गोलकिपरः थिवाउट कोर्तुवा
पुस्कास अवार्डः मोहम्मद सालाह
फेयर प्ले अवार्डः लेननार्ट थेले
समर्थकः पेरुका समर्थक
ड्रिम टिम(विश्व ११):
गोलकिपर– डेभिड डी हिया (म्यानचेस्टर युनाइटेड)
रक्षक– ड्यानी आल्भेस(पिएसजी) राफेल भरान (रियाल मड्रिड), सर्जियो रामोस (रियाल मड्रिड), मार्सेलो (रियाल मड्रिड)
मिडफिल्डर– लुका मोड्रिच(रियाल मड्रिड), एनगोलो कान्टे(चेल्सी) र इडिन हाजार्ड(चेल्सी)
फरवार्ड– किलियान एमबाप्पे(पिएसजी), क्रिष्टियानो रोनाल्डो(युभेन्टस) र लियोनल मेसी(बार्सिलोना)