रोनाल्डोमाथि बलात्कारको आरोप, अब के होला ?
काठमाडौं– स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि एक अमेरिकी महिलाले बलात्कारको आरोप लगाएको सम्बन्धी खबरको रोनाल्डोले खण्डन गरेका छन् । आफूमाथि लागेको आरोप गम्भीर र पूर्ण रुपमा कपोलकल्पित रहेको भन्दै रोनाल्डोले यस सम्बन्धी समाचार ‘फेक’ भएको भन्दै खण्डन गरेका हुन् ।
रोनाल्डोले इन्स्टाग्राममा भिडियो पोस्ट गरेर खबरको खण्डन गरेका हुन् । रोनाल्डोले भनेका छन्, ‘उनीहरु मेरो नाम प्रयोग गरेर आफ्नो प्रमोट गर्न चाहन्छन् । यो सामान्य हो ।’ रोनाल्डोका वकिलले आरोप सम्बन्धी झुठो खबर पहिलो पटक प्रकाशित गर्ने जर्मन म्यागजिन डेर स्पिइगल विरुद्ध मुद्दा दायर गर्ने तयारी भइरहेको बताएका छन् ।
म्यागजिनले अमेरिकी महिला क्याथरिन मायोर्गाले लस भेगासमा रहेको होटलको कोठामा रोनाल्डोले आफूलाई बलात्कार गरेको आरोप लगाएको भन्दै खबर छापेको थियो । सन् २००९ मा बलात्कार गरेको आरोप लगाएको सम्बन्धी खबर आएको थियो । ३४ वर्षकी ती महिलाले घटना लगत्तै लस भेगास प्रहरीमा उजुरी दिएको र सन् २०१० मा रोनाल्डोसँग कुरा मिलेको र अदालत जानु नपरेको खबरमा उल्लेख गरिएको छ ।
रोनाल्डोसँग घटना सार्वजनिक नगर्ने गरी तीन लाख ७५ हजार अमेरिकी डलरको सम्झौता भएको खबरमा उल्लेख गरिएको छ । खबरका कारण रोनाल्डोको नैतिकतामाथि भएको असरको क्षतिपूर्तिको दाबीसहित मुद्दाको तयारीमा रहेको समाचारमा जनाइएको छ ।